कैलाली ।
सरकार बनेको एक महिनामै एमाले नेतृत्वको सुदूरपश्चिम प्रदेश सरकार ढलेको छ । मुख्यमन्त्री राजेन्द्रसिंह रावलले आफूमाथि विश्वासको मत प्राप्त होस् भनी प्रदेशसभा बैठकमा राख्नुभएको प्रस्ताव बहुमतले अस्वीकृत भएसँगै सरकार ढलेको हो ।
प्रदेशसभाको बिहिबारको बैठकमा आफूमाथि विश्वासको मत प्राप्त होस् भनी मुख्यमन्त्रीले राख्नुभएको प्रस्तावलाई सभामुख भीमबहादुर भण्डारीले निर्णयार्थ पेश गर्दा हुन्छ भन्ने सदस्य सङ्ख्याभन्दा हुन्न भन्ने सदस्य सङ्ख्याको बहुमत रहेकाले मुख्यमन्त्रीको प्रस्ताव अस्वीकृत भएको घोषणा गर्नुभयो । बैठकको प्रारम्भमा विश्वासको मतका लागि प्रस्ताव पेश गर्दै रावलले प्रदेशको समृद्धिका लागि साझा सहमति र सहकार्यका आधारमा अगाडि बढ्न जरुरी रहेको बताउनुभएको थियो । प्रस्ताव असफल भएपछि मुख्यमन्त्री रावलले आफूले संसदीय प्रक्रिया र मान्यतालाई सहर्ष स्वीकार गर्ने प्रतिक्रिया दिनुभयो ।
आजको बैठकमा सत्तापक्षीय नागरिक उन्मुक्ति पार्टी (नाउपा) का प्रदेशसभा सदस्य अनुपस्थित थिए । नेकपा (एमाले) संसदीय दलका नेता रावल संविधानको धारा १६८ को (२) अनुसार एमाले नेकपा (माओवादी केन्द्र), नाउपा र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का सदस्यको बहुुमत समर्थनमा गत पुस २७ गते मुख्यमन्त्रीमा नियुक्त हुनुभएको थियो ।
विश्वासको मत अस्वीकृत भएपछि मुख्यमन्त्री रावलले प्रदेश प्रमुख देवराज जोशीसमक्ष राजीनामा दिनुभएको छ । रावलको राजीनामा स्वीकृत गर्दै सुदूरपश्चिम प्रदेशका प्रमुख देवराज जोशीले नेपालको संविधानको धारा १६८ को उपधारा (३) अनुसार नेपाली कांग्रेस संसदीय दलका नेता कमलबहादुर शाहलाई मुख्यमन्त्रीमा नियुक्त गर्नुभएको छ । शाह कैलाली निर्वाचन क्षेत्र नं २ को प्रदेशसभामा प्रत्यक्ष निर्वाचित हुनुहुन्छ ।








































