सुनवल ।
पश्चिम नवलपरासीको सुनवलमा रहेको तुरिया खोला उत्खनन टेन्डर नखुलाई चिनियाँ कम्पनीलाई जिम्मा दिइएको छ । विरोधका बाबजुद प्रक्रिया पूरा नगरी सुनवल नगरपालिकाको १२औँ नगरसभाले तुरिया खोला उत्खननको जिम्मा चिनियाँ कम्पनीलाई दिएको हो।
सुनवल नगरपालिकाको १२ औं नगर सभामा नगर प्रमुख विमला अर्यालले पेस गर्नु भएको तुरिया खोलाको टेन्डर सम्बन्धी विशेष प्रस्ताव विरोधकाबिच पारित भएको खबर सफलपोष्ट डटकमले लेखेको छ ।
तुरिया खोलामा नदिजन्य पदार्थ उत्खननका लागि टेण्डर प्रक्रिया नगराइ सोझै वुटवल नारायणगढ सडक निर्माणको जिम्मा पाएको चिनिया कम्पनीलाई दिने विषयप्रति उपप्रमुख सूर्य दुवेसहित सुनवल वडा नं ११ का वडाअध्यक्ष कमलप्रसाद बुवाई, १२ का चूरामनी पौडेल, २ का राजेन्द्र यादव र ७ का वडाअध्यक्ष नारायणप्रसाद आचार्यले विरोध जनाएका थिए।
नगरसभामा नगर प्रमुख बिमला अर्यालले नदिजन्य पदार्थ नगरपालिकाको आन्तरिक आयस्रोतको प्रमुख स्रोतको रुपमा रहेकाले वैज्ञानिक व्यवस्थापन गर्ने गरी चिनियाँ कम्पनीलाई दिन लागिएको बताइन। अर्यालले चिनियाँ कम्पनीले आफूहरुले तोकेको मूल्यमा ठेक्का लिन सहमति व्यक्त गरेकाले निणर्यका लागि नगरसभामा पेस गरेको भनिन्।
सो क्रममा जनप्रतिनिधिहरुले पूर्व कार्यपालिका बैठकमा छलफल नभइ एक्कासी नगरसभामा यस विषय निर्णयका लागि पेस गरिएकाले असन्तुष्टि जनाएका थिए। यद्धपि १२ औँ नगरसभाले २ वटा नया विधेयक र अन्य २ वटा विशेष संशोधन गर्दै बहुमतले पारित गरेको छ।
नगरसभामा सामाजिक विकास समिति संयोजक भगवती बस्यालले पेस गरेको स्वास्थ्य विधेयक २०७९,खानेपानी तथा सरसफाई सम्बन्धी ऐन २०७७ प्रथम संशोधन विधेयक आर्थिक विकास समितिका संयोजक देव गुरुङले पेस गरेको सहकारी ऐन, २०७५ को प्रथम संशोधन विधेयक र भू-उपयोग योजना, २०७९ विधेयक पनि बहुमतले पारित भएको छ ।
त्यस्तै नगरसभाले लेखा समितिका सदस्यसचिव राजेन्द्रप्रसाद सापकोटाले प्रस्तुत गरेको लेखा समितिको प्रतिवेदन पनि बहुमतले पारित गरेको छ।
नगरसभामा नगरप्रमुख बिमला अर्यालले प्रस्तुत गरेको पाँच बर्षे योजना तथा लक्ष्य समेत नगरसभामा बहुमतले पारित भएको थियो। नगर सभामा नगर उपप्रमुख सुर्य प्रसाद दुवैले चालु आवमा नगरको कुल बजेट १ अर्ब १८ करोड १८ लाख ६३ हजार ७०२ रहेकोमा नगरपालिकामा हालसम्म चालुतर्फ २१ करोड ८४ लाख ९३ हजार अर्थात् ४१ प्रतिशत र पूजीगत तर्फ २२ करोड ६ लाख १३ हजार रुपैया अर्थात् ३३ प्रतिशत बजेट खर्च भएको जानकारी दिए।
सुनवल नगरपालिकाले हालसम्म ७४ वटा कानून निर्मााण गरेको र यस आर्थिक वर्षमा १६ वटा कानून निर्माण गरी कार्यन्वयन रहेको सुनवल नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत भक्तिराम मरामिनीले बताए । सभामा सुनवल नगरपालिकामा हाल २४ करोड ३१ लाख ७० हजार ९८५ बेरुजु रहेको जानकारी गराइएको थियो ।