दार्चुला ।
दार्चुलाको व्याँस गाउँपालिकामा मात्रै बसोबास रहेको व्यासी सौका समुदाय जिल्ला सदरमुकाम क्षेत्रमा गर्मी बढेपछि कुञ्चा सर्न थालेका छन् । दार्चुलाको व्यास गाउँपालिका वडा नम्बर १ मा बसोबास गर्ने व्यासी सौका समुदाय भारतको बाटो भएर छाङरु र तिङकर आज आइतबारदेखि कुञ्चा सरिरहेको व्यास गाउँपालिकाका स्थानिय ललित सिंह बोहराले बताउनुभयाे । उहाँले छाङरु र तिङ्करका गरी करिब ७० परिवार बसोबास गरेको जानकारी दिँदै ती परिवारहरु सदरमुकाम खलंगामा गर्मी बढेकाले कुञ्चा सरिरहेका बताउनुभयाे ।
सदरमुकामबाट आफ्ना पशुचौपायासहित उनीहरु तिङ्कर गइरहेका हुन् । उनिहरुलाइ तिङकर पुग्न कम्तिमा ७ दिन लाग्ने गर्दछ । बाटो घाटोको समस्या त छँदैछ त्यसमा पनि यता सदरमुकाममै पकाएको सातु लगायको खाना खाजा लगेर एक साताको लागि बाटोको खाना लगेर जानुपर्ने बाध्यता समेत रहेको श्रेणी तिङ्करिले बताउनुभयाे । ‘नेपाल तर्फ बाटो छैन हामीले भारतकै बाटो भएर जानुपर्छ । भारतीय प्रशासनको अनुमति लिएर मात्रै हामी तिङ्करवासीले कुञ्चा सरिरहेका छौं’ उहाँले भन्नुभयो ।
खलंगाबाट हिँडेर पहिलो दिनमा एलागाड, दोस्रो दिन पाङ्ला तेस्रो दिन बुदी, चौथो दिन छाङरु तिङ्कर पुगिन्छ । व्यासी सौका समुदाय गएको मङ्सिरमा ढोकामा ताला लगाएर सदरमुकाम खलङ्गा झरेका थिए ।
तिङ्करवासीहरु गाउँ फर्किएपछि तरकारी लगायत बाली भित्र्याउने काम गर्ने गर्छन् । व्यास गाउँपालिका वडा–२ का वडा अध्यक्ष धिरन सिंह बुढाथोकीका अनुसार छाङरुमा ११० परिवार तथा तिङ्करमा ७० परिवारको बसोबास रहेको छ । नेपाल–भारत जोड्ने सीतापुल नाकाबाट व्यासी सौका समुदाय भारतको बाटो हुँदै तिङ्कर पुग्ने छन् ।
सौका समुदायका बासिन्दा ६ महिना ब्यासमा बसोबास गर्छन् भने बाँकी ६ महिना चिसो छ्ल्न जिल्ला सदरमुकाम आउने गर्दछन् । उनिहरुको जग्गा जमिनदेखि सबै बन्दोबस्तका सामग्रीहरु उतै छोडेर आउने गर्दछन् । कसैले त ढोकामा ठूलो ताल्चा लगाएर आउछन् भने कसैले एक जना घर हेराला भनेर राख्ने गरेको स्थानिय सोबान तिङ्करी बताउनुहुन्छ ।
सौका जातिमा पनि धेरै थरका हुन्छन् । जस्तै : तिङ्करी , बोहरा, कल्याल, गर्ब्याल, ऐतवाल, बुदियाल,बुढाथोकी लगायतका जातजातिहरुको बसोबास रहेको छ ।
- सुन्दरसिह धामीबाट