सेयर
मासिक राशिफल २०७४ साल चैत्र १ गतेदेखी ३० गतेसम्म
मेष – चु, चे, चो, ला, लि, लु, ले, लो, अ (Aries)
अर्थ अभावका बीच दीर्घकालीन महत्त्वका काम प्रारम्भ गर्नुपर्ने समय छ। काम बनाउन अलि दौडधुप गर्नुपर्ला। सुरुमा आशा देखाउनेहरूले अन्त्यमा बोली फेर्न सक्छन्। समय र नियमलाई पालना नगर्दा व्यवहारमा समस्या देखा पर्नेछन्। आफ्ना विषयवस्तुमा अरूले अधिकार जमाउनेछन्। ऋणको बोझ उठाउनुपर्ने हुन सक्छ। व्यावहारिक चुनौतीका साथसाथै यो महिनामा विभिन्न अवसर पनि प्राप्त हुनेछन्। केही खर्च लागे पनि प्रयत्न गर्दा देश–विदेशको यात्रा गर्ने अवसर प्राप्त जुट्नेछ। तत्काल फाइदा नभए पनि पछिका लागि लगानी गर्ने मौका छ। नोकरीमा स्थानान्तरणको बलियो सम्भावना देखिन्छ। आफन्तबाट टाढिनुपर्ने स्थिति भने आउन सक्छ।बृष – इ, उ, ए, ओ, बा, बि, बु, बे, बो (Taurus)
आम्दानी बढ्नुका साथै यो महिनामा खुसीको समाचार सुन्न पाइनेछ। विभिन्न अवसर प्राप्त हुनेछन् र दैनिकीले उचाइको बाटो समाउनेछ। व्यवसायमा उल्लेख्य प्रगति हुनाले आयआर्जनका स्रोत थपिनेछन्। विद्यार्थीहरूमा तर्कशक्ति बढ्नेछ। राजनीतिक पहुँच बढ्नुका साथै नाम, दाम र इनाम प्राप्त हुनेछ। नोकरीमा पदोन्नति वा अनुकूल स्थानान्चरण हुने बलियो सम्भावना देखिन्छ। गरेका कामहरूको धेरैले प्रशंसा गर्नेछन्। कृषि तथा पशुधनबाट यथेष्ट लाभ मिल्नेछ। अध्ययनमा प्रगतिको समय छ। तर, अल्पकालीन सोचाइले निर्णय कमजोर बनाउन सक्छ। केही अप्ठ्यारा परिस्थितिसँग सम्झौता गर्नुपरे पनि मिहिनेतले सम्मानित स्थान दिलाउन सक्छ।मिथुन – का, कि, कु, घ, ङ, छ, के, को, ह (Gemini)
प्रतिभाको उच्च मूल्यांकन हुनेछ भने तारिफयोग्य काम सम्पादन हुनाले सामाजिक रूपमा ख्याति बढ्नेछ। व्यापार–व्यवसायमा पनि लगानी बढाउने समय छ। कृषिउपज र पशुधनबाट मनग्गे फाइदा हुनेछ। अध्ययनले नयाँ गति लिनेछ भने प्रयत्न गर्दा देश–विदेश घुम्ने अवसर प्राप्त हुनेछ। मित्रताको बन्धन कसिलो हुनेछ तर प्रेममा भने खटपटी आउन सक्छ। आफ्नो वर्गको नेतृत्व गर्दै प्रतिष्ठित काम सम्पादन गर्ने अवसर जुट्नेछ। नोकरीमा पदोन्नति र राजनीतिमा लाग्नेहरूलाई विशेष फाइदा हुने समय छ। राष्ट्रियस्तरको मानसम्मान प्राप्त हुन सक्छ। व्यवहारले उब्जाएको वादविवाद सम्झौतामा टुंगिनेछ। भौतिक साधनहरू जुट्नेछन् र मनग्गे धनलाभ हुनेछ।कर्कट – हि, हु, हे, हो, डा, डि, डु, डे, डो (Cancer)
व्यवहारमा केही चुनौती देखिए पनि इच्छाशक्ति एवं लगनशीलताले स्वाभिमान संरक्षित हुनेछ। अधैर्य मनोवृत्तिले संघर्षको पथमा हिँडाउन सक्छ। तर व्यवसायमा नयाँ कार्यको थालनी हुनेछ। विद्यार्थीहरूको लेखन तथा अभिव्यक्ति कलामा निखारता आउनेछ। आस मारेको प्रतिफलले उत्साह जगाउनेछ। खर्चको मात्रा बढे पनि नयाँ क्षेत्रमा लगानी गर्ने मौकासमेत पाइनेछ। विभिन्न अवसर प्राप्त हुनाले जोस–जाँगर बढ्नेछ। केही समय अरूका काममा जुट्नुपरे पनि अन्ततः फाइदा आफैंलाई हुनेछ। क्षमता प्रदर्शन गरेरै स्वरोजगार बन्न सफल भइनेछ। स्वास्थ्यका लागि आहारविहारमा ध्यान पुर्याउनुहोला। धार्मिक र सामाजिक क्रियाकलापमा रुचि बढ्नेछ।सिंह – मा, मि, मु, मे, मो, टा, टि, टु, टे (Leo)
व्यवहारमा संघर्ष गर्नुपरे पनि खोजमूलक अध्ययनमा लाग्नेहरूका लागि यो महिना लाभदायक रहनेछ। परिवारजनले साथ दिनेछन्। तर, व्यवसाय र आयमूलक काममा मन्दी आउनुका साथै आर्थिक अभावले पनि सताउन सक्छ। खराब व्यक्तिको विश्वासमा पर्नाले काममा धोका हुन सक्छ। अनीति र अन्यायको सिकार हुँदा समेत आफन्तजन तथा शुभचिन्तकहरू मौन रहने हुँदा बुद्धिविवेकले काम लिनुपर्नेछ। स्वास्थ्यका लागि आहार–विहारमा सजग रहनुपर्ला। राजनीतिक र सामाजिक प्रभाव कमजोर बन्नेछ। केही जरिवाना, चोटपटक वा हाड–जोर्र्नीमा समस्या देखिएकाले सवारीसाधन वा हातहतियारको उपयोग गर्दा अलि सावधानी अपनाउनुहोला।कन्या – टो, प, पि, पु, ष, ण, ठ, पे, पो (Virgo)
रमाइला ठाउँको भ्रमण गर्ने मौका आउला। आफ्नो प्रतिभाले अरूलाई आकर्षित गर्न सकिनेछ। कृषि तथा व्यापारमा आम्दानी बढ्नुका साथै मनग्गे धन सञ्चय गर्न सकिनेछ। तर, समयमा निर्णय लिन नसक्ता हातमा आएको अवसर गुम्न सक्छ। स्वास्थ्यमा मौसमी समस्या आउने हुँदा आँटेका काममा केही विलम्ब हुनेछ। अरूको भरपर्दा काम रोकिन सक्छ। आफ्नै कमजोरीले आफन्त टाढिन सक्छन्। घरखर्च बढ्नुका साथै व्यापारमा केही मन्दी आउला। जीवनसाथीलाई पनि केही पीडा हुने ग्रहयोग छ। अप्रिय समाचारले मन खिन्न रहनेछ। चोटपटक सम्भावना देखिएकाले जोखिमपूर्ण कार्यबाट सजग रहनुहोला। रोकिएका काम बिस्तारै सम्पादन हुनेछन्।तुला – र, रि, रु, रे, रो, ता, ति, तु, ते (Libra)
काममा प्रतिस्पर्धा गर्नुपरे पनि मिहिनेतले लक्ष्यमा पुर्याउनेछ। बोलीको प्रभाव बढ्नेछ भने शैक्षिक उपलब्धिले मानसम्मान दिलाउनेछ। टाढिएका आफन्तसँग पुनर्मिलन हुने सम्भावना देखिन्छ। लामो समयदेखि रोकिएका काम बन्नुका साथै नयाँ उद्योग वा व्यवसाय सुरु गर्ने मौका छ। मिहिनेतले आर्थिक समस्या सुल्झाउनेछ। काममा सहयोगीले साथ दिनेछन्। विभिन्न अवसरले पछ्याउने ग्रहयोग छ। शत्रुबाधा, मुद्दामामिला वा कामका विविध झमेलाहरूबाट मुक्ति मिल्नेछ। प्रतिस्पर्धीहरूलाई दमन गर्न सकिनेछ। पारिवारिक सम्बन्ध भने अलि कमजोर बन्न सक्छ। पतिपत्नीबीच असमझदारी बढ्ने सम्भावना देखिएकाले व्यवहारमा सचेत रहनुहोला।बृश्चिक – तो, ना, नि, नु, ने, नो, या, यि, यु (Scorpio)
स्वास्थ्यमा मौसमी समस्याले सताए पनि अध्ययन र व्यवसायमा राम्रै फाइदा हुनेछ। आँटेका काममा केही विलम्ब भए पनि शुभचिन्तकहरूको साथ जुट्नेछ। सन्तानका माध्यमबाट पनि लाभ मिल्नेछ। टाढिएका आफन्तसँग भेटघाट तथा मेलमिलाप हुनेछ। गुरुजनको प्रेरणाले मन दह्रो हुनुका साथै अध्ययनमा हौसला प्राप्त हुनेछ। नोकरी तथा पेसा–व्यवसायमा मनग्गे फाइदा हुनेछ। बौद्धिक क्षमता बढ्नुका साथै अध्ययनमा राम्रो नतिजा हासिल गर्न सकिनेछ। सानो प्रयत्नले आर्थिक स्थितिमा सुधार ल्याउनेछ भने अड्किएका काम पुनः प्रारम्भ हुनेछन्। क्षमता प्रदर्शन गरेरै स्वरोजगार बन्न सफल भइनेछ। देश–विदेशको यात्रा गर्ने साइत जुर्न सक्छ।धनु – ये, यो, भ, भि, भु, ध, फा, ढ, भे (Sagittarius)
अवसर र चुनौतीको संक्रमणले व्यवहार अस्थिरतातर्फ मोडिन सक्छ। उच्च महत्त्वाकांक्षाले प्रश्रय पाउने हुँदा बुद्धि–विवेकले काम लिन नसकिएला। भूमिबाट प्रशस्त लाभ मिले पनि घर–जग्गा वा स्थायी सम्पत्तिमा वादविवाद आउन सक्छ। असंयम व्यवहारले समस्या निम्त्याउनेछ भने निकटजनहरूसँग बिनाकारण विवाद हुन सक्छ। तापनि, साथीभाइ र बन्धुबान्धवको सहयोगले परिस्थिति अनुकूल बनाउन सकिनेछ। मिहिनेत गर्दा व्यवसायमा फाइदै हुनेछ। लगनशीलताले अप्ठ्यारो ठानिएका काम पनि सम्पादन हुनेछन्। कृषितर्फ पछि फाइदा हुने काम थालनी हुनेछ। साझेदारीमा विवाद र पारिवारिक मतभेद देखापर्ने हुँदा संयमतापूर्वक काम लिनुपर्नेछ।मकर – भो, ज, जि, खि, खु, खे, खो, गा, गि (Capricorn)
विभिन्न अवसर जुट्नाले यो महिना निकै लाभदायक रहनेछ। रोकिएका काम बन्नेछन् भने मिहिनेतले सम्मानित स्थान दिलाउनेछ। उद्योग–धन्दा र व्यापारमा विशेष फाइदा हुनेछ। अग्रजहरूको सहयोग र सद्भाव प्राप्त हुनाले महत्त्वाकांक्षी काम प्रारम्भ गर्न सकिनेछ। शत्रु र रोगबाट पनि छुटकारा मिल्नेछ। नोकरी तथा राजनीति गर्नेहरूलाई विशेष लाभ मिल्ने देखिन्छ। तारिफयोग्य काम सम्पादन हुनाले थप अवसर प्राप्त गर्न सकिनेछ। तर दीर्घकालीन योजना नहुँदा दिगो फाइदा उठाउन नसकिएला। फजुल खर्च अनियन्त्रित हुनेछ भने दाम्पत्यमा असमझदारी बढ्ने सम्भावना छ। अंसियारबीच सगोलको सम्पत्तिमा भागबन्डा लाग्न सक्छ।कुम्भ – गु, गे, गो, सा, सि, सु, से, सो, द (Aquarius)
प्रयत्न गर्दा राम्रै उपलब्धि प्राप्त हुनेछ। इच्छाशक्ति एवं लगनशीलताले व्यावसायिक मार्ग अवलम्बन गर्नुका साथै धन आर्जनका विभिन्न स्रोतहरू प्राप्त हुनेछन्। पढाइ, लेखन, संगीत र कलामा रुचि बढ्नुका साथै प्रतिभाको उचित कदर हुनेछ। व्यवसाय र उद्योगधन्दामा राम्रो फाइदा मिल्नेछ। बौद्धिक सफलताले उत्साह जगाउनेछ। प्रशस्त धन र बहुमूल्य धातुहरू संग्रह गर्ने मौका छ। स्वास्थ्यमा भने टाउको र आँखाको समस्याले सताउन सक्छ। धनमाल हराउने, चोरिने वा ठगीमा परिने समेत ग्रहयोग छ। विशेष पदमा बसेका वा राजनीतिक पृष्ठमूमिका व्यक्तिबाट धोका पाइने योग रहेकाले सजग रहनुहोला। प्रयत्न गर्दा अभीष्ट पूरा हुनेछ।मीन – दि, दु, थ, झ, ञ, दे, दो, च, चि (Pisces)
लगनशील बन्दा जीवनशैलीमा परिवर्तन ल्याउन सकिनेछ। स्वास्थ्यमा समस्या देखिए पनि भोगविलासमा मन रमाउनेछ। प्रेम र मित्रताको बन्धन कसिन सक्छ। दाम्पत्य सम्बन्ध सुमधुर बन्नेछ। उत्तम वस्त्र, भोजन र विशेष उपहार हातलागी हुनेछन्। समाजमा गुमेको स्थान प्राप्त हुनेछ भने व्यवसायले प्रगतिको मार्ग अवलम्बन गर्न सक्छ। तर, ज्वरो, टाउको दुखाइ वा आँखाको समस्या आदिले सताउने हुँदा काम समयमा सम्पादन गर्न नसकिएला। आफन्तसँग असमझदारी बढे पनि समस्या दर्साउँदा शुभचिन्तकहरूले साथ दिनेछन्। बुद्धिको उपयोगले सफलताको सूत्र पत्ता लगाउन सकिनेछ। लगनशीलताले अप्ठ्यारो ठानिएका काम समेत सम्पादन हुनेछन्।राशिफलले जे जस्ताे भनेपनी हजुरहरूकाे याे महिना शुभ रहाेस् ।
जिल्लाखबर डटकम यही कामना गर्दछ ।
shere this






































