स्याङ्जा: कात्तिक ८, असिनापानीले स्याङ्जामा दुई करोड भन्दा बढीको सुन्तला नष्ट भएको छ । प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना, परियोजना कार्यान्वयन एकाइ सुन्तला सुपरजोनले सङ्कलन गरेको क्षति विवरणअनुसार जिल्लाको पुतलीबजार नगरपालिकाका वडा नं १०, ११, १३ र १४ एवं भीरकोट नगरपालिकाको १ नं. वडामा गरी कूल ५०९ मेट्रिकटन सुन्तला नष्ट भएको बरिष्ठ कृषि अधिकृत मदनकुमार श्रेष्ठले बताए ।
बजार मूल्य प्रतिकिलो ४० का दरले सबैभन्दा धेरै पुतलीबजार १० मा ८५ लाख ५१ हजार २८७, ११ नं वडामा ७४ लाख ५५ हजार ७१३, १३ नं वडामा ३४ लाख ७० हजार ९७६, भीरकोट नपा १ नं वडामा चार लाख ५७ हजार ४५२ र पुतलीबजार १४ नं वडामा चार लाख ४४ हजार २४७ गरी कूल दुई करोड तीन लाख ७९ हजार ६७५ मूल्यको सुन्तला क्षति भएको हो । स्वादिलो सुन्तलाका रूपमा पहिचान रहेको स्याङ्जाको सुन्तला बिक्रीका लागि तयारी भइरहेका बेला असिनापानीले क्षति गरेपछि सुन्तला व्यवसायी चिन्तित छन् ।









































