घरबाटै अपहरित एक युवती भारतमा बलात्कृत भएर फर्किएको तर अदालतबाट न्याय नपाएपछि घर छाडेको विषयलाई कान्तिपुरले एंकर समाचार बनाएको छ । ‘अनि नग्माले नेपालगन्ज छाडिन्’ शीर्षकको समाचारमा लेखिएअनुसार नेपालगञ्ज वनघुस्राकी २२ वर्षीया नग्मा (परिवर्तित नाम)लाई गत कात्तिक १३ गते गाउँकै निजामुद्दिन साई र मुबारक नाउले मोटरसाइकलको बीचमा राखेर अपहरण गरे । उनीहरुले रुपैडिया पुगेर अर्कै पुरुषको जिम्मा लगाए । ती पुरुषले बेहोस बनाएर नयाँदिल्ली पुर्याए । एक कोठामा राखेर पालैपालो बलात्कार गरे । अनेक प्रयासपछि उनी कात्तिक १७ गते घरमै फर्किन सफल भइन् । उनलाई भारतमा बेच्ने निजामुद्दिन र मुबारक गाउँमा निस्फिक्री घुमिरहेका थिए । नग्माले कात्तिक १८ गते उनीहरुविरुद्ध जिल्ला प्रहरी कार्यालय बाँकेमा किटानी उजुरी दिइन् । उनीहरु पक्राउ परे । जिल्ला अदालतले मंसिर १७ गते उनीहरु दुवैलाई पुर्पक्षका लागि थुनामा पठाउन आदेश दियो ।
तर, पीडक पक्षको उजुरीपछि तुलसीपुर उच्च अदालतले जिल्ला अदालतको आदेश बदर गरिदियो । निजामुद्दिन र मुबारक एक-एक लाख धरौटीमा रिहा भए । गाउँ गएर खुसियाली मनाए । मासुको भोज खाए, मिठाई बाँडे । त्यही दिनदेखि नग्माले नेपालगञ्ज छाडिन् । उनी सर्वोच्च अदालतको ढोका ढक्ढकाउन अहिले काठमाडौं आएकी छन् ।








































