काठमाडौं। नेपाल विद्युत प्राधिकरणले चिलिमे जलविद्युत कम्पनीको प्रमुख कार्यकारी अधिकृत (सिइओ) मा सुवास मिश्रलाई नियुक्त गरेको छ । प्राधिकरणले ५१ प्रतिशत सेयर स्वामित्व रहेको कम्पनीमा ११औ तह (निर्देशक) का मिश्रलाई नियुक्त गरेको हो । माधव काेइराला प्राधिकरणमा फिर्ता भएपछि याे पद रिक्त थियाे । मिश्र कुलेखानी तेस्रो जलविद्युत आयोजना प्रमुख हुन् । उनकै सक्रियतामा निर्माण सुरु भएको १२ वर्षपछि चालू वर्षदेखि कुलेखानी तेस्रो सञ्चालनमा आएको छ ।
मिश्रलाई चिलिमेअन्तर्गत निर्माणाधीन २ सय ७० मेगावाटका आयोजना सम्पन्न गर्ने तथा नयाँ आयोजनाको निर्माण प्रक्रिया अघि बढाउने जिम्मेवारी छ । मिश्रले २०५१ सालमा इन्जिनियरको रुपमा ७ तहबाट विद्युत प्राधिकरणमा सेवा सुरु गरेका थिए । उनी इलेक्ट्रिकल इन्जिनियर हुन् । उनले भारतको इलाहाबाद विश्वविद्यालयबाट इन्जिनियरिङ अध्ययन गरेका हुन् । चिलिमेमा यसअघि सिइओको जिम्मेवारीमा रहेका कोइराला प्राधिकरण फर्किसकेका छन् । १२ तहमा बढुवा भएपछि उनलाई प्राधिकरणमा फिर्ता बोलाइएको थियो ।