जनकपुर : पौष २९, प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले प्रहरी प्रशासनकै सेटिङमा चुरे दोहन भइरहेको आरोप लगाएका छन्। मुख्यमन्त्री राउतले ठूल(ठूला होटलमा सभा गोष्ठी गरेर जलवायु परिवर्तन रोकिन नसकिने समेत बताएका छन्। नीति अनुसन्धान प्रतिष्ठान, परराष्ट्र मन्त्रालय र परराष्ट्र मामिला अध्ययन प्रतिष्ठानद्वारा संयुक्त रुपमा आयोजित जलवायु परिवर्तन, पर्वतीय वातावरण र मानव जातिको भविष्य विषयक सगरमाथा संवाद कार्यक्रममा सम्बोधन गर्दै राउतले गोष्ठीको आयोजना महंगो होटेलमा भएको प्रति आपत्ति जनाए।
उनले भने, ‘जलवायु परिवर्तनलाई रोक्न फिल्डमै काम गर्नु पर्छ। आफ्नो समस्या पहिल्याउनुको साटो विदेशीको समस्यालाई सभागोष्ठीमा केलाउने प्रवृत्ति अन्त गर्नु पर्छ। चुरेको दोहन र वन विनासले नेपालमा प्राकृतिक विपद् निम्त्याएको उल्लेख गर्दै राउतले वन विनास रोक्नुको साटो जलवायु परिवर्तन रोक्न सभा सम्मेलनमा समय खर्चिनु दुर्भाग्यपूर्ण रहेको उल्लेख गरे। उनले भने, ‘दिनदहाडै बालुवा क्रसर उद्योगीले चुरे दोहन गर्दैछन्, दिनहुँ वन विनास हुँदैछ, रोक्ने प्रयास गर्नेको हत्या हुन्छ र हामी मुकदर्शक भएका छौं’, उनले अगाडी थपे,‘प्रहरी हाम्रो मातहतमा छैनन्, संघीय सरकार मातहतको प्रहरी प्रशासनले रोक्न सकेको छैन योभन्दा ठूलो दुर्भाग्यको कुरा अरु के होला ?’