काठमाडौं : माघ १, उपचारका लागि भारत भ्रमणमा गएका नेपाली कांग्रेसका बरिष्ठ नेता रामचन्द्र पौडेलले अस्पतालभन्दा पहिले भारतीय नेताहरुसँग भेटघाट गरेका छन् । नेपाली कांग्रेसमा विवाद चरम उत्कर्षमा पुगेपछि रामचन्द्र पौडेल उपचारका लागि भन्दै भारतको भ्रमणमा गएका हुन् । बुधवार नयाँ दिल्लीमा बरिष्ठ नेता पौडेलले भारतीय रक्षामन्त्री राजनाथ सिंहसँग भेटवार्ता गरेका छन्।
रक्तचापमा उतारचडाप देखिएपछि पौडेल उपचारका लागि भारत गएका थिए । अस्पतालमा पुगेको भोलीपल्ट उनले भारतीय नेताहरुसँग भेटवार्ता गरेका छन् । पहिलो भेटघाट राजनाथ सिंहसँग गरेका पौडेलले दोस्रो भेटघाट भारतीय विदेशमन्त्री एस जयशंकरसँग गर्ने भएका छन् । उनले भारतीय कांग्रेकी अध्यक्ष सोनिया गान्धीसँग पनि भेट्ने कार्यक्रम तय भएको उनीको नीजि सचिवालयले जनाएको छ ।
पार्टीमा विवाद चलेपछि वा देशमा राजनीतिक असहमति बढ्यो भने नेपालका शीर्ष नेताहरु भारत धाउने पुरानै परम्परा हो । अझ नेपाली कांग्रेस भारतको निकट मानिने पार्टी मानिन्छ । पछिल्लो समय विवाद चर्किएपछि भारतीय नेताहरुको राय बुझ्न पौडेल उपचारको बाहाना बनाएर भारत गएको आशंका गरिएको छ । मधेश आन्दोलन चर्किएको बेला पनि मधेश केन्दीत दलहरुका शीर्ष नेतृत्व विहारका पूर्व मुख्यमन्त्रीलाई भेट्न गएका थिए । आफु भित्र वा देशमा संकट चुलिएपछि भारतको सहयोग माग्ने गरेको नेपाली नेताहरुलाई आरोप लाग्दै आएको छ । यस पटक कांग्रेसमा विवाद चर्किएको बेला पौडेलले गरेको भारत भ्रमणलाई निक्कै महत्वका साथ हेरिएको छ ।