काठमाडौं :
नेपाल–भारत सीमा क्षेत्र विराटनगरमा अवस्थित एकीकृत भन्सार जाँच चौकी (आइसिपी) सञ्चालनमा आएको छ। प्रधानमन्त्री केपी शर्मा ओली र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले ‘भिडियो कन्फ्रेन्स’मार्फत संयुक्त रूपमा आइसिपी (इन्टिग्रेटेट चेक प्वाइन्ट) को उद्घाटन गरेका हुन् ।
मोदीले दिल्लीस्थित हैदरावाद हाउस र ओलीले काठमाडौंबाटै एकैसाथ स्वीच थिचेर उक्त परियोजनाको उद्घाटन गरेका हुन् । यो नेपाल भारतको दोस्रो एकीकृत भन्सार जाँच चौकी हो । जाँचचौकी एक अर्ब १४ करोड रुपैयाँ लागतमा भारत सरकारले निर्माण गरेको हो । नेपालतर्फ बनेको जाँचचौकी भारतले केही दिनअघि नै हस्तान्तरण गरिसकेको थियो । आजदेखि सञ्चालनमा आएको जाँच चौकीमार्फत विराटनगर रानीसँग जोडिएको जोगबनी बजारका साथै सीमावर्ती सडकको सवारी चाप पनि घट्ने विश्वास लिइएको छ ।