कोरोना भाईरस प्रभावित चीनबाट नेपाल फर्कन चाहने विद्यार्थीलाई लिन आज नेपालले जहाज पठाउँदै छ । दिउसो २ः ४५ मा वाइडबडी त्यसतर्फ उड्नेछ । उक्त विमान आइतबार विमान २ः४० मा त्रिभुवन अन्र्तराष्ट्रिय विमानस्थलमा अवतरण गर्ने नेपाल वायुसेवा निगमले जनाएको छ ।
अवतरण गरेपछि जहाजलाई ४८ घण्टासम्म अन्य ठाउँमा उडान गर्न मिल्नेछैन । वुहान जाने टोलीमा तीन विमान चालक, छ क्याबिन क्रु, दुई इञ्जिनीयर, १–१ जना फ्लाइट डिस्प्याचर र लोडमास्टरसहित नेपाली सेनाका चारजना चिकित्सक रहेका छन् ।
त्यहाँबाट ल्याइने विद्यार्थीलाई क्वारेन्टाइनमा राखिनेछ । त्यसका लागि भक्तपुरको खरिपाटीस्थित नेपाल विद्युत् प्राधिकरणको दुईटा भवन तयारी अवस्थामा राखिएको छ । वुहानलगायत शहरबाट १८० नेपालीले स्वदेश फर्कन लागि त्यहाँस्थित नेपाली दूतावासमा निवेदन दिएका छन् ।
चीनसंगको उडानका कारण त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल कम्तीमा १२ घण्टा अवरुद्ध हुने जनाइएको छ । विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)ले तोकेको मापदण्डबमोजिम संक्रमित स्थानबाट ल्याइने जहाज अवतरणका बेला ‘एयरक्राफ्ट डिसइन्फेक्सन’ गर्नुपर्ने हुन्छ । त्यसैका लागि विमानस्थल कम्तीमा १२ घण्टा अवरुद्ध हुने भएको हो ।
सरकारले ‘जहाजबाट यात्रुलाई कसरी ओराल्ने पहिलो परीक्षण कसरी र कहाँ गर्ने ? त्यहाँबाट क्वारेन्टाइनमा लगेपछि कसरी राख्ने आदी विषयमा पूर्व तयारी गरिसकेको छ ।