काठमाडौं ।
नुवाकोटका विभिन्न १० ओटा स्थानीय तहका प्रमुख उपप्रमुख सहित जनप्रतिनिधि र कर्मचारीको टोली भारत भ्रमण सकेर फर्किएको छ । फागुन २७ गते भ्रमणमा गएको टोलीलाई भुकम्पपिडितको पैसाले भ्रमण गरेको आरोप लागेको छ । भुकम्पपिडितका लागि आएको अनुदानको पैसामा भारतको हरिद्धार लगायतका स्थान घुमेर टोली शुक्रबार नै फर्किएको हो ।
भुकम्पपिडितलाई नक्सा बनाउन सहयोग गरिरहेको संस्था भारत सरकारको परियोजना सेवाका लागि संयुक्त राष्ट्र संघ कार्यालय युएनओपिएस को निमन्त्रणामा १० स्थानीय तहका प्रमुख उपप्रमुख लगायत कर्मचारीहरु भ्रमणमा गएका हुन् । नुवाकोटको १० स्थानीय तहमा मात्र काम गरिरहेको युएनओपिएस विवादित छ ।
जनप्रतिनिधिसँगै जिल्ला समन्वय समितिका अध्यक्ष सन्तमान तामाङ्ग पनि भ्रमणमा गएका हुन् ।
आलोचना भएपछि बिचैमा फर्किइन उपमेयर ढुंगाना
भारत भ्रमणको बिषयलाई लिएर आलोचना भएपछि बेलकोटगढी नगरपालिकाकी उपप्रमुख कविता ढुंगाना भने एकदिन अगावै फर्किएकी थिईन । नगरपालिकाले भारत भ्रमणमा जान सार्वजनिक विदा दिएको तथा भुकम्पपिडितको अनुदानमा भ्रमण गरेको भनेर आलोचना भएपछि ढुंगाना कार्यक्रम छोट्याएर फर्किएकी थिईन । ढुंगानाले जनताप्रति उत्तरदायी रहेको भन्दै त्रुटी भए आत्मालोचनासहित सच्याउन तयार रहेको बताईसकेकी छन् ।
भारतले नुवाकोटमा २३ हजार ८८ भूकम्पपिडितलाई सामाजिक प्राबिधिक सहजीकरणका लागि खर्च गर्ने रकमभित्रै जनप्रतिनिधिलाई भ्रमण गराएको पाईएको छ ।