देश कोरना महामारी संक्रमण रोक्न लक डाउनको अबस्थामा छ । विना अत्यावश्यकिय सामाग्री क्वारेन्टाईन भन्दै देशैभर हल्ला चलिरहेको बेला मध्यपुरठिमी नगरपालिकाले भने घर घर पुगेर स्वास्थ्य परीक्षण गर्ने अभियान थालेको छ ।
भक्तपुरको मध्यपुरठिमी नगरपालिकाले कोरोना संक्रमणका शंकास्पद व्यक्तिलाई घर–घरमै पुगेर स्वास्थ्य परीक्षण गर्न थालेको छ । नगर क्षेत्रमा कोरोना भाइरस संक्रमण रोक्न तथा फैलिन नदिन स्वास्थ्यकर्मीको टोलीले घरमै पुगेको शंकास्पद व्यक्तिको स्वास्थ्य परीक्षण र नमुना संकलन गर्न थालेको हो । सबै वडामा स्वास्थ्यकर्मीको टोली परिचालन गरिएको नगरपालीकाले जनाएको छ ।
विदेशबाट फर्किएका व्यक्तिमा कोरोना संक्रमण हुन सक्ने आशंका बढेपछि सरकारले सबै स्थानीय तहलाई विदेशबाट फर्किएकाहरूको विवरण तयार गर्न निर्देशन दिएको थियो ।
नगरपालिकाले नगर क्षेत्रमा विदेशबाट फर्किएकाहरूको स्वास्थ्य परीक्षण गरी नमुनासमेत संकलन गर्ने गरी स्वास्थ्यकर्मीको टोली परिचालन गरेको हो । ‘कोरोना रोकथाम र नियन्त्रणका लागि हामीले स्थानीयस्तरमा सम्पूर्ण तयारी पूरा गरेका छौँ, अब शंकास्पद व्यक्तिको नमुना संकलन गरी परीक्षणका लागि पठाउँदै छौँ,’ नगरपालिकाका मेयर मदनसुन्दर श्रेष्ठले भने ।
नगरपालिकाले सञ्चालन गरेको कोरियामैत्री अस्पतालमा २४सै घन्टा चिकित्सकसहितको टोली तयारी अवस्थामा राखिएको उनले बताए । नगरपालिकाले विदेशबाट फर्र्किएका व्यक्तिहरूको अवस्थाबारे समेत विवरण संकलन गरिरहेको छ । ‘घरमै पुगेर स्वास्थ्यकर्मीले उनीहरूको साधारण स्वास्थ्य परीक्षण गर्छन्, उनीहरूको ट्राभल हिस्ट्रीदेखि सबै तथ्यांक अपडेट भइरहेको छ ।’
नगरपालिकाले शनिबारसम्ममा विदेशबाट फर्किएका ३० जनाको पहिचान गरी विवरण संकलन तथा स्वास्थ्य परीक्षण गरेको छ । अहिलेसम्म कोही पनि शंकास्पद बिरामी भेटिएका छैनन् । कोरियामैत्री अस्पतालमा चारवटा भेन्टिलेटरसहितको आइसियू र १६ शय्याको आइसोलेन वार्ड पनि तयारी अवस्थामा छ ।
आइसोलेसनलाई ४० शय्यासम्म पु¥याउने र क्वारेन्टाइनका लागि समेत तयारी भइरहेको मेयर श्रेष्ठले बताए । मेयर श्रेष्ठले बोडेस्थित तालिम केन्द्र भवनलाई क्वारेन्टाइनका रूपमा प्रयोग गर्न सकिने पनि बताए ।








































