काठमाडौं ।
आज थप तीन जना व्यक्तिमा कोरोना संक्रमण पुष्टी भएसँगै नेपालमा कोरोनाबाट संक्रमित हुनेको संख्या ५२ पुगेको छ । विराटनगरको कोशी अञ्चल अस्पतालमा गरिएको परीक्षणमा एक पुरुषमा कोरोना पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयका सहप्रवक्ता डा. समिरकुमार अधिकारीले जारी गरेको विज्ञप्तिका अनुसार झापाका एक ५० वर्षीय पुरुषमा संक्रमण देखिएको हो । उनी अस्पतालको सम्पर्कमा रहेको र स्वस्थ रहेको विज्ञप्तिमा जनाइएको छ।
यस्तै आज नै वीरगन्जका दुईजना पुरुषमा पनि संक्रमण पुष्टि भएको थियो । वीरगञ्ज महानगरपालिका वडा नं २ र ३ निवासी दुवै जना पुरुषको पिसिआर रिपोर्ट पोजिटिभ आएपछि दुवै जनालाई वीरगञ्ज नारायणी अस्पतालको आइसोलेशनमा राखिएको छ । कोरोना सङ्क्रमित हुनेमा एकजना वीरगञ्ज महानगरपालिकाको सरसरफाइ शाखामा कार्यरत कर्मचारी नै भएकोे नारायणी अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट मदत उपाध्यायले जानकारी दिए ।
उनले चार दिन अगाडि छपकैमा सङ्कलन गरिएको ५२ जनाको स्वाबको नमूना जाँचका लागि काठमाडौँको टेकु पठाइएकामा सोमध्ये दुईजना पुरुषको रिपोर्ट पोजिटिभ आएपछि दुवै जनालाई आइसोलेशनमा राखी उपचार शुरु गरिएको बताए ।
सङ्क्रमित फेला परेको क्षेत्रलाई ‘सिल’ गर्दै सङ्क्रमितका परिवारलाई घरमै राखी निगरानी तथा परीक्षणको कार्य अगाडि बढाएको जिल्ला प्रशासन कार्यालय पर्साले जनाएको छ ।
१६ जना संक्रमित भने निको भएर घर फर्किएका छन्। वीरगञ्जस्थित नारायणी क्षेत्रीय अस्पतालमा उपचाररत थप चारजना सङ्क्रमित निको भएर घर फर्किएसँगै कोभिड–१९ सङ्क्रमितको उपचारपछि स्वस्थ भएर घर फर्किनेको सङ्ख्या १६ पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।
मन्त्रालयद्वारा आयोजित नियमित पत्रकार सम्मेलनमा कोभिड–१९ का सङ्क्रमित ५१ मध्ये १६ जना घर फर्किएको र ३५ उपचारका क्रममा रहेको जनाएको छ । मन्त्रालयका प्रवक्ता डा विकास देवकोटाले देशका विभिन्न अस्पतालमा उपचाररत कोभिड–१९ सङ्क्रमितको स्वास्थ्य अवस्था सामान्य रहेको बताए ।
यसअघि शुक्रबार धौलागिरि अस्पतालमा उपचारत एक कोरोना सङ्क्रमित युवती स्वस्थ्य भएर घर पठाइएको थियो भने शनिबार राति भरतपुरमा उपचाररत २७ वर्षीय पुरुषको पनि उपचारपछि घर पठाइएको थियो । हाल धनगढीमा एक, वीरगञ्जमा तीन, भरतपुरमा एक र विराटनगरमा ३० जना कोरोना सङ्क्रमितको उपचार भइरहेको प्रवक्ता डा देवकोटाले जानकारी दिए । नेपालमा पहिलोपटक कोभिड–१९ को सङ्क्रमण पुष्टि भएका चीनबाट आएका एक व्यक्ति यसअघि नै घर फर्किसकेेका छन् । कोभिड–१९ नेपालमा पहिलोपटक गत माघ ९ गते सङ्क्रमण देखिएको थियो । दोस्रो सङ्क्रमित चैत १० गते फेला परेको थियो । चैतको १० मा उहाँमा सङ्क्रमण देखिएपछि सरकारले भोलिपल्ट चैत ११ गते ‘लकडाउन’को घोषणा गरेको थियो ।