मुख्यमन्त्रीबाट राजिनामा दिएर फेरि नियुक्त हुने खेलमा लागेका लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंकर पोखलेर अल्पमतमा परेका छन् । आजै पुनर्नियुक्ति पाएका पोखरेलको साथ दुई सांसदले छोडेका छन् । कपिलवस्तु–२ (२) का धर्मबहादुर लाल श्रीवास्तव र पश्चिम नवलपरासी (२) का अजय शाहीले मुख्यमन्त्री पोखरेललाई छोडेका हुन् ।
सूर्य चिन्हबाट चुनाव जितेका स्वतन्त्र राजनीतिक समूहका धर्मबहादुर लाल श्रीवास्तव र अजय शाहीले नेकपा माओवादी केन्द्रका संसदीय दलका नेता कुलप्रसाद केसीको नेतृत्वमा नयाँ सरकार गठनका लागि हस्ताक्षर गरेका छन् । धर्मबहादुर कपिलबस्तु २ (ख) र अजय पश्चिम नवलपरासी (ख)बाट निर्वाचित भएका थिए ।
हृदयेश त्रिपाठी र विजेशकुमार गुप्ता प्रतिनिधिसभा सदस्यमा निर्वाचित हुँदा शाही र श्रीवास्तवले लुम्बिनीमा प्रदेश सांसद जितेका थिए । त्यसबेला वाम गठबन्धनसँग स्वतन्त्र राजनीतिक समूहका रुपमा सूर्य चिन्हबाट चुनाव लडेका थिए ।
यसअघि दाङबाट प्रदेश सभाको निर्वाचन जितेर सांसद बन्नुभएका उत्तर ओलीको सवारी दुर्घटनामा निधनपछि उपचुनावबाट साँसद बन्नुभएकी विमला आजै माओवादी केन्द्रमा प्रवेश गर्नुभएको थियो ।
यसैबिच नेकपा माओवादी केन्द्र संसदीय दलका नेता कुलप्रसाद केसीले ४२ सांसदको हस्ताक्षरसहित आफ्नो नेतृत्वमा नयाँ सरकार गठनका लागि प्रदेश प्रमुखसामू दाबी पेश गरेका छन् ।
प्रदेश प्रमुख धर्मनाथ यादवले एमाले संसदीय दलका नेता शंकर पोखरेललाई मुख्यमन्त्री नियुक्त गरेलगत्तै ४२ सांसदको हस्ताक्षरले केसीको नेतृत्वमा नयाँ सरकार गठनका लागि दावी पेश गरेका हुन् । जसमा धर्मबहादुर लाल श्रीवास्तव र अजय शाही तथा साबिकको नेकपाबाट चुनाव जितेकी विमला केसीले पनि हस्ताक्षर गरेका छन् ।








































