
नुवाकोट ।
नेपाली काँग्रेस नुवाकोट बेलकोटगढीका सभापति लेखनाथ मुडभरीले चुनावमा पार्टीमा करोडौँमा टिकट किनबेच भएको भन्दै सार्वजनिक अभिव्यक्ति दिएपछि काँग्रेस नुवाकोट तरगिंत भएको छ । स्टाटसलाई आधार मानेर जिल्ला नेतृत्वले मुडवरीलाई ४ दिने स्पष्टिकरणसमेत सोधेपछि स्थानीय नेता कार्यकर्ता चिढिएका छन् । स्थानीय बुद्धिजीवी मछिन्द्र नरसिंह प्याकुरेलले लोकतान्त्रिक पार्टीमा बोल्न समेत नपाइने भन्दै कटाक्ष गर्नुभएको छ ।
‘सायद बोल्ने स्वतन्त्रता, नेतालाई प्रश्न गर्ने स्वतन्त्रता नुवाकोट काँग्रेसमा रहेनछ कि, सक्कियो ?’ उहाँले काँग्रेसको स्पष्टिकरण पत्र सहित फेसबुकमा लेख्नुभएको छ, ‘लेखनाथ मुडभरी सायद जनयुद्वको उद्गम थलो कुमरीमा माओवादी विरुद्व जेहाद छाडेर काँग्रेस संगठन जोगाएका बचाएका योद्दा हुन् । सामाजिक सञ्जालमा बेलकोटगढीको सभापतिले लेखेको यथार्थ कुराले आफ्नो जग हल्लिने नुवाकोट जिल्ला काँग्रेस र अनुशासन समिति देखेर उल्टो दया लाग्यो ।’
प्याकुरेलले स्टाटस लेख्ने लेखनाथले स्पष्टिकरण दिनुपर्ने नभइ नेतृत्वले स्पष्टिकरण दिन तयार हुनुपर्ने बताउनुभएको छ । ‘स्पष्टिकरण लेखनाथले होइन तपाईहरु दिन तयार रहनुपर्छ, कुनै कार्यकर्ताले नेतृत्वप्रति लगाएको आरोपको यथार्थता र सत्यता भए/नभएको प्रमाणित गर्ने कि उल्टो स्पष्टिकरण सोध्ने ?’ उहाँले जिल्ला नेतृत्वलाई प्रश्न गर्नुभएको छ ।
काँग्रेस नुवाकोट कार्यसमितिले बेलकोटगढी नगर सभापति लेखनाथ मुडभरीलाई जिल्लादेखि केन्द्रीय स्तरका नेताले करोडौँ रकम लिइ टिकट बेचेको लाञ्छना लगाइ चरित्र हत्या हुने अभिव्यक्ति दिएको भन्दै पार्टी विधान २०१७ (संसोधनसहित) को परिच्छेद ९ धारा ३४ उपधारा १ को (क) बमोजिम ४ दिनभित्र स्पष्टिकरण पेस गर्न भन्दै पत्र काटेको थियो ।
मुडभरीले केही दिन अघि फेसबुकमा स्टाटस लेख्दै निर्वाचनमा केन्द्र र जिल्लाका नाम चलेका नेताले करोडौमा टिकट बेचेको बताउनुभएको थियो ।








































