काठमाडौँ ।
गएराती हृदयघातका कारण निधन भएका संविधानसभा अध्यक्ष एवं नेपाल कम्युनिस्ट पार्टी एमालेका उपाध्यक्ष सुवास नेम्वाङको पार्थिव शरीर पार्टी केन्द्रीय कार्यालय च्यासलमा राखिएको छ । पार्टी कार्यालयमा नेता कार्यकर्ता र शुभेच्छुकले श्रद्धाञ्जली दिइरहेका छन् ।
नेम्वाङप्रति श्रद्धाञ्जली अर्पण गर्न शीर्ष नेताहरु एमाले केन्द्रीय कार्यालय च्यासल पुगेका छन् । प्रधानमन्त्री एवम् नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपाल लगायतका नेताहरुले नेम्वाङप्रति श्रद्धाञ्जली अर्पण गर्नुभएको छ । यसअघि राती नै नेम्वाङको निधनको खबरपछि शीर्ष नेताहरु त्रिवि शिक्षण अस्पताल महाराजगञ्ज पुगेका थिए ।

राती घरको शौचालयमा बेहोस भइ अस्पताल लैजाँदै गर्दा नेम्वाङको बाटोमै निधन भएको थियो । मन्त्रिपरिषद्को बैठकले नेम्वाङलाई राजकीय सम्मान दिने निर्णय गरेको छ । उक्त दिन शोक बिदा र देश तथा विदेशका कुटनीतिक नियोगमा राष्ट्रिय झण्डा आधा झुकाउने निर्णय भएको सञ्चार मन्त्री रेखा शर्माले जानकारी दिनुभयो ।
नेकपा एमालेले पनि नेम्वाङको निधनको शोकमा तीन दिनसम्म औपचारिक कार्यक्रम नगर्ने निर्णय गरेको छ । आज च्यासलमा बसेको सचिवालय बैठकले पूर्वनिर्धारित कार्यक्रम स्थगित गर्दै तीन दिनसम्म औपचारिक कार्यक्रम नगर्ने निर्णय गरेको बैठकपछि नेकपा एमालेका उपमहासचिव प्रदीप ज्ञवालीले जानकारी दिनुभयो ।
नेम्वाङका छोराहरु विदेश भएकाले उनीहरु फर्किएपछि अन्त्येष्टि गरिने पारिवारिक स्रोतले बताएको छ । नेम्वाङका दुई छोरा र दुई छोरीहरु छन् ।








































