नुवाकोट ।
महाकवि लक्ष्मीप्रसाद देवकोटाको ११५ औँ जन्मजयन्तीको अवसरमा नुवाकोटको झिल्टुङमा शनिबार विद्यालयस्तरीय कविता प्रतियोगिता सम्पन्न भएको छ । महाकवि देवकोटा साहित्य प्रतिष्ठानको आयोजनामा बेलकोटगढी नगरपालिका ५ झिल्टुङ खड्काछापमा भएको कविता लेखन तथा वाचन प्रतियोगितामा गौलिङ्गेश्वर माविकी छात्रा अनामिका भट्टराई प्रथम हुनुभएको छ ।
यस्तै पन्चासे माविका अनिश पौडेल द्वित्तीय, महादेव माविका धिरज अधिकारी तृतीय र शिलादेवि माविकी पुजा राई सान्त्वना हुनुभएको छ । महादेव मा.वि. कोल्पुटार, नुवाकोटका प्रधानाध्यापक केदार प्रसाद नेपालको अध्यक्षतामा भएको कार्यक्रममा हामी र हाम्रो कृति समूहका अभियन्ता मोहनप्रसाद नेपालको प्रमुख आतिथ्यता रहेको थियो । कार्यक्रममा बोल्दै प्रमुख अतिथि नेपालले महाकविको सम्म्मान र स्मरणमा यसकिसिमका काव्यिक कार्यक्रम हुनु ऐतिहासिक भएको उल्लेख गर्नुभएको ।
प्रतिष्ठानका सचिव नारायण नेपालले सहजीकरण गर्नुभएको कार्यक्रममा विभिन्न विद्यालयका शिक्षक विद्यार्थी एवं समाजसेवी, स्थानिय पालिकाका साहित्यप्रेमीहरूको बाक्लो उपस्थिति रहेको थियो । प्रतियोगितामा विजयी भएकाहरूलाई नगद पुरस्कार, प्रमाणपत्र एवं सम्मान गरिएको थियो ।