काठमाडौँ २८ असार ।
गएराती नारायणगढ मुग्लिन सडकखण्ड अन्तर्गत सिमलताल भन्ने स्थानमा पहिरोले दुई वटा यात्रुवाहक बस बगाउँदा बेपत्ता भएका यात्रुको अवस्था अझै अज्ञात छ । चितवनको भरतपुर महानगरपालिका–२९ स्थित सिमलतालमा पहिरो खस्दा दुई वटा डिलक्स गाडी त्रिशूलीमा खसेका हुन् । बागमती प्रदेश–०३–००६ ख १५१६ नम्बरको एन्जल डिलक्स र गणपति डिलक्स नदीमा खसेका थिए । काठमाडौंस्थित टिकट बुकिङ इञ्चार्ज दीपु कुमारका अनुसार काठमाडौंको नयाँबसपार्कबाट गौरका लागि छुटेको ०००१ ख २४९५ नम्बरको गणपति डिलक्सको सो बसमा चालक, सहचालक र २७ यात्रु गरी जम्मा २९ जना भएकोमा दुई जना बीच बाटोबाट चढेका थिए । बसमा चालक र सहचालकसहित ३१ यात्रु रहेको खुलेको छ ।
यस्तै वीरगञ्जबाट बिहीबार साँझ ८ बजे काठमाडौंका लागि छुटेको बसमा चालक र सहचालकसहित २४ जना सवार थिए । उनीहरूको पहिचान भएको छ । वीरगन्ज घर भएका चालक जवाहिर महतोले हाँकेको बसमा भारत घर भएका अन्सारी जी समेत २ जना, सन्तोष ठाकुर, सुरेन्द्र शाह, आदित मिया, सुनिल शाह, साहनबाज आलम, वीरगन्ज(१४ पिपरा घर भएका प्रकाश पटेलसहित दुई जना रहेका छन् ।यस्तै ठेगाना नखुलेका अरबिन्द्र दुवे, हरिन्द्र पण्डित र रामनगरी पर्सा घर भएका सुजित जीसहित दुई जना, बारा मुसहर्वा घर भएका परमानन्द जी, पर्सा रंगपुर घर भएका हृदयनारायण राउत समेत ३ जना, रघुनाथपुर घर भएका सालिम मिया सहित दुई जना रहेका छन् । यस्तै पर्सा कटिया घर भएका रैजुल आलम समेत दुई जना, डिलक्स साहु राजेन्द्र केसी, सह(चालक चौधरी थर रहेका छन् ।
बसका यात्रुहरुको विवरणमा पूरा नाम र ठेगाना भने लेखिएको छैन । नन्दन दास, राज पटेल, प्रिन्स जैशवाल र ओकिल खाँको नाम मात्र पूरा लेखेको देखिन्छ । यसैगरी नन्दु, अमिता, हरिचन्द्र, शम्भु, नवीन, ओम, राजकिशोर, शैलेन्द्र लगायतको नामबाट सिट बुक भएको छ । नन्दुको नामबाट ५ जनाको सिट बुक भएको देखिन्छ । यसैगरी शन्तु र नवीनको नामबाट ४ जनाको सिट बुक भएको छ । जोरपाटी काउन्टरका लागि ५ सिट छुट्याइएको छ । जोरपाटीबाट चढेका यात्रुहरुको नाम पनि उल्लेख छैन ।
काठमाडौंबाट गौरका लागि छुटेको बसका तीन जना यात्रुहरु भने हामफालेर ज्यान जोगाउन सफल भएका छन् । अन्य यात्रुहरुको अवस्था अज्ञात छ । घटनास्थलमा खोजी र उद्धार कार्य जारी छ । पहिरोले बगाएका दुई बस र यात्रुको खोजीका लागि सशस्त्र प्रहरी र नेपाली सेनाको गोताखोर परिचालन गरिएको छ । सशस्त्र प्रहरी बल नेपाल विपद् व्यवस्थापन तालिम शिक्षालय कुरिनटारबाट गएको गोताखोरसहितको टोलीले खोजी सुरु गरेको हो । शिक्षालयबाट ७ गोताखोरसहित २५ जनाको टोली परिचालन गरिएको हो । बेपत्ता यात्रुका आफन्तहरु घटनास्थलमा आउने क्रम जारी छ ।