स्विजरल्याण्ड, १७ असार ।
संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टेनीओ गुटेर्रेस शुक्रबार स्विजरल्याण्ड आइपुग्नु भएको छ ।
साईप्रसको शान्ति बार्तालाई अगाडी बढाउनका लागि उहाँ स्विजरल्याण्ड पुग्नु भएको राष्ट्रसङ्घीय अधिकारीहरुले जनाएका छन् । साईप्रसको शान्ति प्रक्रियालाई सकारात्मक तरिकाले टुङग्याउन स्विजरल्याण्डमा शान्ति बार्ताको आयोजना गरिएको छ ।
राष्ट्रसङ्घीय महासचिव गुटेर्रेसले स्विजरल्याण्डको अल्पाईन टाउनमा वार्ताका सहभागीहरुलाई भेटेर विभिन्न पक्षबाट छलफल गर्नुहुने छ भने सम्बन्धीत विषयमा हुने छलफलको अध्यक्षता पनि गर्नुहुने छ ।
साईप्रस बारेको सम्मेलनको नयाँ चरण राष्ट्रसङ्घको मातहतमा बुधबार विहान सुरु भएको र यसलाई रचनात्मक र सकारात्मक सुरुवातको रुपमा लिएको छ ।
साईप्रसका लागि राष्ट्रसङ्घका विषेश सल्लाहकार इस्पेन बार्थ इडले साईप्रसको समस्या समाधानका लागि अहिलेको सम्मेलन ‘सवै भन्दा राम्रो मौका’ भएको बताउनु भएको थियो ।
राष्ट्रसङ्घीय महासचिवका राजनीतिक मामिला सहसचिव जेफ्रि फेल्टम्यानले साईप्रस सम्बन्धी यो सम्मेलन एक दशक लामो समस्या समाधानका लागि ‘ऐतिहासिक अवसर’ भएको बताउनु भएको छ ।
सम्मेलनमा टर्की, ग्रिस, बेलायत र युरोपेली सङ्घका नेता तथा उच्च अधिकारीहरुको सहभागीता रहेको छ ।
सम्मेलनमा मुख्यगरी ६ ओटा फरक फरक विषयमा समझदारी कायम गर्ने प्रयास गरिने भएको राष्ट्रसङ्घीय अधिकारीहरुले बताएका छन् ।
सरकार र शक्तिको बाँडफाँड, सम्पत्ति, अर्थ र युरोपेली विषयहरु मुख्यतयाः पुरा भएको उनीहरुको भनाई छ ।
राष्ट्रसङ्घले जुलाई ७ मा सम्मेलन सम्पन्न गर्ने योजना बनाएको छ । तर यदि आवश्यक पर्यो भने जुलाई ७ भन्दा पछि सम्म पनि सम्मेलन लम्ब्याउन सवैपक्ष सहमत भएमा सम्मेलन लम्बिन पनि सक्ने छ ।
टर्कीबाट विभाजित भएपछि साईप्रसमा सन् १९७४ देखि नै सिमा विवाद हुदै आएको छ ।