बाबियाचौर (म्याग्दी), २६ असार ।
सुन्तलाका बिरुवामा म्याग्दी जिल्ला आत्मनिर्भर बनेको छ । म्याग्दीमा आवश्यक बिरुवा जिल्लाकै उत्पादनले पुगकाले यस वर्ष बाहिरबाट आयात गर्नु परेन ।
म्याग्दीको विभिन्न ठाउँमा रहेको नर्सरीमा उत्पादित २५ हजार बिरुवा कृषकलाई अनुदानमा वितरण गरिएको कृषि विकास कार्यालयका प्राविधिक सहायक श्यामराज क्षेत्रीले जानकारी दिनुभयो । उहाँका अनुसार दुई हजार ५०० कागतीका बिरुवा भने गोरखाबाट ल्याएर वितरण गरिएको छ ।
यसअघि म्याग्दीमा सुन्तला नर्सरी नहुँदा गोरखा र पाल्पाबाट बिरुवा ल्याएर वितरण गरिँदै आएको थियो । रु २० पर्ने प्रतिबोट सुन्तला कृषकलाई ५० प्रतिशत अनुदानमा रु १० मा उपलब्ध गराइएको हो । यस वर्ष म्याग्दीमा ६० हेक्टर जमिनमा सुन्तला खेती विस्तार भएको छ । जिल्लाको भकिम्ली, दाना, पिप्ले, बरञ्जा, देविस्थान रुन्मा र दानामा सातवटा सुन्तला नर्सरी छन् । बेनपा–३ राखुमा सुन्तला नर्सरी स्थापनाका लागि आधुनिक प्रविधिको स्क्रिन हाउस निर्माण भएको छ ।
बिरुवा बेचेर नर्सरी सञ्चालन गरेका कृषकले रु पाँच लाख आम्दानी गरेका छन् । रु डेढ लाख बराबरको सुन्तला बिरुवा बेच्नुभएका मङ्गला–४ बरञ्जाका रेशम बुढाथोकीले र नर्सरीबाट रु डेढ लाख बराबरको सुन्तला बिरुवा बेच्नुभएका सोही स्थानका रेशम बुढाथोकीले नर्सरीबाट छिटो आम्दानी लिन सकिने बताउनुभयो ।
यस वर्ष सुन्तलालगायत कृषकलाई विभिन्न प्रजातिका ७५ हजार फलफूलका बिरुवा पनि वितरण गरिएकोे कृषि कार्यालयले जनाएको छ । ५० प्रतिशत अनुदानमा २० हजार र पूरै मूल्यमा २२ हजार अलैँचीका बिरुवा वितरण भएको छ । अलैँचीको बिरुवाको मूल्य प्रतिगोटा रु पाँच छ । यसैगरी, रु १० मूल्य पर्ने कफीका बिरुवा ५० प्रतिशत अनुदानमा वितरण गरिएको छ । कफीका पाँच हजार बिरुवा वितरण भएको हो । ५०० आँप, ३५० लिची र २०० अम्बाका बिरुवा वितरण भएको छ । रासस