काठमाडौँ, ३० साउन ।
साउन महिनाको अन्तिम सोमबार आज बिहानैदेखि पशुपतिनाथमा दर्शन एवं पूजाका लागि भक्तजनको भीड लागेको छ ।
बिहान दुई बजेदेखि जम्मा भएका भक्तजनका लागि ३ः३० बजेदेखि पशुपतिका चारै ढोका खोलिएको पशुपति क्षेत्र विकास कोषले जनाएको छ ।
साउन महिनाको अन्तिम सोमबार भएकाले अघिल्ला सोमबारभन्दा भक्तजनको भीड बढी रहेको कोषका निर्देशक एवं पशुपति मन्दिर तथा गुठी शाखा प्रमुख भोला सिटौलाले जानकारी दिनुभयो ।
पशुपति मन्दिरमा ३९० र वासुकी मन्दिरमा ११० जनाले विशेष पूजाका लागि रसिद काटेको उहाँले जानकारी दिनुभयो । प्रधानन्यायाधीश गोपालप्रसाद पराजुलीले बिहान पशुपतिको दर्शन गर्नुभएको छ भने राष्ट्रपति विद्यादेवी भण्डारीेले अपराह्न ४ः३० बजे दर्शन गर्नुहुने कार्यक्रम रहेको कोषले जनाएको छ ।
मध्याह्नसम्म पशुपतिमा दुई लाख भक्तजनले दर्शन गरिसकेका छन् । आज साउनको अन्तिम सोमबारसँगै श्रीकृष्ण जन्माष्टमी पनि परेकाले भक्तजनको भीड उल्लेख्य छ । विशेषगरी महिला भक्तजनको उपस्थिति रहेको छ । साउनको सोमबार विवाहित महिलाले व्रत बसी शिवालयमा पूजा गरी जल चढाएमा अटल सौभाग्य प्राप्त हुने धार्मिक विश्वास छ ।