सुर्खेत,
६ नं प्रदेशको अस्थायी राजधानी वीरेन्द्रनगरमा प्रदेश व्यवस्थापिका–संसद् र सरकारका लागि आवश्यक भौतिक संरचनाको तयारी धमाधम भइरहेको छ ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले संसद्, प्रदेश प्रमुख, मुख्यमन्त्री, मन्त्रीलगायत प्रदेश सरकारका आवश्यक संरचनाको स्वीकृति गरेपछि क्षेत्रीय प्रशासन कार्यालय र सडक डिभिजन कार्यालयले तयारी थालेका हुन् ।
शैक्षिक तालीम केन्द्रमा प्रदेशसभा भवन, सभामुख कार्यालय, सभामुख निवास, प्रदेश उपप्रमुखलगायत प्रदेशसभा सचिवालयमा खट्ने कर्मचारी र संसदीय दलको कार्यालय रहनेछ । क्षेत्रीय वन र क्षेत्रीय वन तालीम केन्द्रमा प्रदेश प्रमुखको कार्यालय स्थापना भइसकेको छ भने प्रदेश प्रमुखको निवास र प्रदेश सचिवको कार्यालय व्यवस्थापनको काम भइरहेको छ ।
“हामीले प्रस्ताव गरेका संरचनालाई प्रधानमन्त्री कार्यालयले स्वीकृत गरेर पठाएको छ”, क्षेत्रीय प्रशासक सुरेश प्रधानले भन्नुभयो, “अहिले हामी संरचना व्यवस्थापनको काममा जुटेका छौँ ।” प्रधानका अनुसार क्षेत्रीय प्रशासन र क्षेत्रीय हुलाकमा प्रदेश मन्त्रिपरिषद्, मुख्यमन्त्री र प्रमुख सचिवको कार्यालय रहने छन् ।
जिल्ला जनस्वास्थ्य कार्यालयमा गृह मन्त्रालय, जिल्ला भू–संरक्षण कार्यालयमा अर्थ, क्षेत्रीय कृषि र जिल्ला कृषि विकास कार्यालयमा कृषि तथा भूमि व्यवस्थापन मन्त्रालय, क्षेत्रीय सडक र डिभिजन सिँचाइमा पूर्वाधार विकास मन्त्रालय, क्षेत्रीय सिँचाइ र क्षेत्रीय सुपरीवेक्षण कार्यालयमा प्रदेश विज्ञान तथा वातावरण मन्त्रालय, क्षेत्रीय शिक्षा र पशु सेवा निर्देशनालयमा शिक्षा, स्वास्थ्य तथा सामाजिक विकास मन्त्रालय रहनेछन् ।
यस्तै, प्रदेश मन्त्रीहरुको निवासका लागि क्षेत्रीय सिँचाइको आवास र मन्त्रालयमा रहने विशिष्ट कर्मचारीका लागि सम्बन्धित कार्यालयका हालका निवासहरुलाई प्रयोग गरिने उहाँले बताउनुभयो । सरकारले यी कार्यालयको भौतिक संरचना निर्माणका लागि रु सात करोड ५० लाख पनि विनियोजन गरेको छ ।
सरकारले भौतिक संरचना मर्मततर्फ रु पाँच करोड, भवन निर्माणतर्फ रु एक करोड, फर्निचरका लागि रु एक करोड र मेशिनरी औजारका लागि रु ५० लाख पठाएको छ ।
(रासस)






































