काठमाडौँ, १५ माघ
नेपाल नगरपालिका संघले स्थानीय तहका जनप्रतिनिधिको मर्यादाक्रम तोक्न सरकारसँग माग गरेका छन् ।
संघको प्रदेश नं ३ स्तरीय भेलाले आज आठ बँुदे घोषणापत्र सार्वजनिक गर्दै चाँडै नयाँ मर्यादाक्रम बनाइ स्थानीय तहका जनप्रतिनिधिको सम्मानजनक स्थान कायम गर्न माग गरिएको हो ।
घोषणापत्रमा नगरप्रमुख र उपप्रमुखको सवारी साधनमा आवागमनको सहजताका लागि चिनारी झल्कने किसिमको विशेष चिह्नको व्यवस्थापन गर्न तथा संविधानको अनुसूची ९ मा उल्लेख गरिएका प्रदेशसभासँगका १५ वटा साझा अधिकारको कानून बनाउन माग गरिएको भेला आयोजक समितिका संयोजक अशोककुमार ब्याञ्जुले जानकारी दिनुभयो ।
प्रदेशसभाको निर्वाचन भएपश्चात् पनि कानून नबन्दा काममा असहजता आएको भन्दै संविधानको अनुसूचीअनुसार कानून बनाउन माग गरिएको उहाँले जानकारी गराउनुभयो ।
यसैगरी कर्मचारीको दरबन्दी समायोजन प्रक्रिया चाँडो गर्न र सो नहँुदासम्मका लागि करारमा कर्मचारी भर्ना गर्न तथा जिल्ला समन्वय समितिबाट उठाइरहेको राजश्व जस्तै ढुंगा, बालुवा, गिटी, मालपोत रजिष्ट्रेशन र घर बहालको कर पनि आफूले उठाउन पाउनुपर्नेसमेत माग संघले गरेका छन् ।
त्यस्तै घोषणापत्रमा विषयगत कार्यालयबाट हस्तान्तरण गर्न भनिएका चलअचल सम्पत्ति पनि चाँडै हस्तान्तरण गर्न पनि माग गरिएको संयोजक ब्याञ्जुले बताउनुभयो ।
भेलाले संघको ३ नं प्रदेशको साधारणसभाका लागि दोलखा भीमेश्वर नगरपालिकाका नगरप्रमुख भरतबहादुर केसीको संयोजकत्वमा प्रदेशस्तरीय समिति गठन गरिएको छ ।