काठमाडौं: असोज ९,सरकारले धागो, कपडा र तयारी पोसाक आयातमा प्रभावकारी नियमन तथा अनुगमन गर्न नसक्दा अर्बौं रुपैयाँको राजस्व चुहावट भएको देखिएको छ । कतिपय आयातकर्ताले कर्मचारीको मिलोमतोमा सरकारको आँखा छल्दै अर्बौं रुपैयाँबराबको राजस्व चुहावट गरिरहेको एक अध्ययनले देखाएको हो ।
धागो, कपडा र तयारी पोसाक उत्पादक संघहरूद्वारा सामूहिक रूपमा गरिएको अध्ययनले यी वस्तुको अवैध आयात तथा गलत भन्सार मूल्यांकनबाट वार्षिक ३९ अर्ब रुपैयाँभन्दा बढी राजस्व चुहावट भइरहेको देखाएको हो । विगत पाँच वर्षको सरकारी तथ्यांक र बजार मूल्यमा आधारित भएर गरिएको अध्ययनले कपडा तथा तयारी पोसाकको अवैध आयातबाट वार्षिक १३ अर्ब ४२ करोड रुपैयाँ राजस्व चुहावट भएको देखाएको हो ।
त्यस्तै, धागो, तयारी पोसाक र कपडाको गलत भन्सार मूल्यांकन एवं न्यून बिजकीकरणबाट वार्षिक २५ अर्ब ७३ करोड रुपैयाँ राजस्व चुहावट भइरहेको अध्ययनले देखाएको छ । कपडा, धागो र तयारी पोसाकको आयात, भन्सार मूल्यांकन तथा बिक्री–वितरणमा समेत प्रभावकारी अनुगमन तथा नियमन नहुँदा अर्बौं रुपैयाँबराबरको राजस्व चुहावट भइरहेको देखिएको धागो उत्पादक संघका अध्यक्ष पवनकुमार गोल्यानले बताए ।








































