ग्रेटर नेपाल अभियानका संयोजक फणिन्द्र नेपालले सरकारसंग युद्ध गर्नका लागि तयारी गर्न नेपाली युवा जनसमुदाय समक्ष आव्हान गरेका छन् । संयोजक नेपालले आज बिहान आफ्नो फेसबुक स्टाटसमार्फत सरकारसंग लड्नुपर्ने आवस्यकता औन्ल्याउन्दै नेपाली युवा जनसमुदाय समक्ष यस्तो आव्हान गरेका हुन् ।
उनले आफ्नो स्टाटसमा सरकारसंग लड्नुपर्ने कारण खुलाउंदै अघि भनेका छन्, “युवा साथीहरू , युद्धमा मारिए स्वर्ग गइन्छ भनेर त्यसै भनेको होइन । त्यसकारण हामीले सुगौली सन्धिमा गुमाएको हाम्रो ६०००० वर्ग किलोमिटर जमिन र कालापानीमा कब्जा गरेर बसेको भारतसँग कुरा पनि गर्न नसक्ने सरकारसँग लड्नुपर्ने निश्चित छ । र जीत हाम्रै हुने पनि उत्तिकै निश्चित छ । जीत सुनिश्चित छ भने लड्न किन डराउने ?
उनले आफ्नो स्टाटसको शुरुमा नै “युवा साथीहरू, युद्धका निम्ति तयारी गर्न थालौँ !” भन्दै युद्धको महत्व बारे अघि भनेका छन् कि “युद्धको महिमा वर्णनातीत छ । त्यसैले युद्धदेखि डराएर भाग्नु कायरता हो । खास गरी अाफ्नो जन्मभूमिको रक्षाका निम्ति गरिने युद्ध सर्वोत्तम मानिन्छ ।”
“युद्धदेखि किन डराउँछौ ? निडर भएर लड । लडाइँमा मारियौ भने स्वर्ग जानेछौ , जित्यौ भने शासन गर्नेछौ । (हत्वा वा प्राप्स्यसे स्वर्गम् जीत्वा वा भोक्ष्यसे महीम् ।)” भनेर कृष्णले गीतामा अर्जुनलाई संझाउँदै भनेको कुरा उल्लेख गर्दै देशको भुमि फिर्ता गर्न आवस्यक पर्ने दबाबका लागि युद्धको तयारीमा लाग्न युवाहरुलाई आव्हान गरेका छन् ।
उनले आफ्नो स्टाटसको अन्तमा “जय ग्रेटर नेपाल !” भनेका छन् ।








































