काठमाडौं ,नेपाली समाजमा रहेका विभिन्न विकृति र विसंगतिलाई केन्द्रमा राखेर तयार गरिएको नाटक नौगेडीको प्रदर्शन भइरहेको छ । नाटककार पुरु लम्सालको लेखन तथा निर्देशन रहेको नाटक नौगेडीको सर्वनाम थिएटरमा प्रदर्शन भईरहेको हो । डिल्लीबजार कालिकास्थानस्थित सर्वनाम थिएटरमा सो नाटक असोज १२ गतेसम्म प्रदर्शन हुने तय गरिएको छ ।
सामाजिक, आर्थिक, राजनीतिक विसंगतिको चित्रण नाटकमा प्रस्तुत गर्न खोजिएको छ । सन्तान अभावमा नारी हृदयमा उब्जने सन्ताप चित्रण पनि नाटकको मुख्य अंगका रुपमा स्थापना गर्न खोजिएको नौगेडीमा श्रीमतीका रहर पूरा गर्न अहोरात्र खटिने श्रीमानको चरित्र च्यान्टेका माध्यमबाट प्रस्तुत गर्न खोजिएको छ ।
भाद्र २७ गतेदेखि काठमाडौंमा मन्चन सुरु भएको नाटकले नुवाकोटमा जिल्लामा अवस्थित दुप्चेश्वर महादेवको मेलाबाट प्रारम्भ भएको नाटक समाजबाट लोप हुन लागेको रमाइलो घाँसे गीत नेपथ्यबाट बज्दा नाटक हेर्न आउनेको ध्यानाकर्षण गर्छ । त्यसपछि मेलामा विभिन्न पात्रहरुको जमघटले मेलाको रौनक बढ्छ । मेलाको रमाइलो दोहोरीबाटै सुरु हुन्छ नाटकका प्रमुख पात्र मनमाया र च्यान्टेको प्रेम बिबाहसँगै घरजम पनि ।
‘नौगेडी’ को आशमा च्यान्टेकी भएकी मनमायाको रहरको कथा सुरु हुन्छ । नाटकले मनमाया, च्यान्टेको कथासँगै भारतमा आफन्तबाटै बेचिएकी मनमायाको ब्यथा, असल राजनीति गर्दागर्दै पनि चुनावमा परास्त भएका चन्द्रबहादुरको कथालाई नाटकले दमदार रूपमा प्रस्तुत गरेको छ ।
यो सँगै नाटकमा नेपाली लोकसंस्कृतिको चित्र, समाजको सभ्यतासँगै ‘नौगेडी’ को सपना पूरा गर्न नसकेको, बच्चा दिन नसकेको च्यान्टे जस्ता अनेकौं च्यान्टेहरुको कथा, झुक्याएर आफन्तबाट बेचिनुको पीडासँगै समाजमा संघर्ष गर्दा गर्दै समाजका मान्छेहरुबाट हेपिनुको छुट्टै पिडा, असल राजनीति गर्दागर्दै पनि समाजले असल नेता नचिन्नु, मिथक विश्वास, सामाजिक, आर्थिकर, राजनीतिक विसङ्गतीका विरुद्ध नाटकले जबर्जस्त रूपमा बोलेको देख्न सकिन्छ ।
अझै पनि हाम्रो समाजमा सन्तान नहुँदाको नारी हृदय, श्रीमतीको सपना पूरा गर्न नसकेका च्यान्टे जस्ता श्रीमानहरुको कथा, खराब राजनीतिको दाउपेचमा फसेका चन्द्रबहादुर जस्ता असल युवा नेताहरुको कथा व्यथाको बारेमा नाटकले प्रस्तुति दिएको छ । नेपाली रंगमञ्चको क्षेत्रमा, भाषा, धर्म, कला, साहित्य, नाटक र पर्यटनको क्षेत्रमा निरन्तर गर्दै आएको आदि इत्यादीले नाटक ‘नौगेडी’लाई प्रस्तुत गरेको हो । नाटक नौगेडी यसअघि सन् २०१८ मा भुमिज अन्तर्राष्ट्रिय थिएटर फेस्टिबलको आयोजनामा बङ्गलादेशमा, राष्ट्रिय नाटक महोत्सव पोखरामा र रारा नाटक महोत्सव सुर्खेतमा समेत मन्चन गरिएको थियो ।
‘नौगेडी’ नाटकमा शुशिल सिंह ठकुरी, रिता थापा, आईपी आचार्य, बृहषमान सुनुवार, भीष्मराज जोशी, दिवाकर घिमिरे अनामिका लामिछाने, राहुल श्रेष्ठ, अस्मिता बयलकोटी, समीर खनाल, रुवि सत्याल र जयराम तिमिल्सिनाको अभिनय रहेकोछ । नाटको प्रवर्दधनका रूपमा भिजन २०२० मा रहेको नेपाल पर्यटन बोर्ड रहेको छ । नाटक असोज १२ गतेसम्म सर्वनाम थिएटरमा प्रत्येक दिन बेलुका ५ः१० मा प्रदर्शन सुरु हुने शुशिल सिंह ठकुरीले बताउनु भयो ।








































