एजेन्सी : पौष २३, अमेरिकाले आफ्ना सेनाका जेनरल कासिम सुलेमानीको हत्या गरेपछि इरानले इराकस्थित अमेरिकाका दुई हवाई सैन्य आधार शिविरमा दर्जनौँ ब्यालेष्टिक क्षेप्यास्त्र प्रहार गरेको छ । इरानको सरकारी टेलिभिजनका अनुसार गत शुक्रवार अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पको आदेशमा बग्दादमा भएको जेनेरल कासिम सुलेमानीको हत्याको बदला लिन ती क्षेप्यास्त्रहरू प्रहार गरिएको हो।
पेन्टागनले पनि आफ्नो पश्चिमी बग्दादस्थित एरबिल र अल असदमा रहेका अमेरिकी सैन्य आधार शिविरहरूमा एइरानले क्षेप्यास्त्र प्रहार गरेको बताएको छ । तर मानवीय क्षतिका सम्बन्धमा भने पेन्टागनले केही बताएको छैन । गत शुक्रवार अमेरिकी हवाई कारबाहीमा इराकको राजधानी बग्दादमा इरानी सैन्य जेनेरल कासिम सुलेमानी मारिएपछि इरान र अमेरिकाबीच तनाव उच्च भएको छ। इरानले अमेरिकी सेनालाई आतंकवादी संस्था घोषित गरिसकेको छ । इरानले सुलेमानीको हत्याको बदला लिने बताउँदै आएको छ।
अमेरिकी रक्षा अधिकारीहरूले त्यस क्षेत्रमा रहेका अमेरिका र उसको साझेदारहरूका नागरिकहरूको रक्षाका लागि आवश्यक कदम चालिने बताएका छन्। हामी अमेरिकाको आतङ्ककारी सेनालाई आधार शिविर दिने सबै साझेदारलाई चेतावनी दिन्छौँ कि इरानविरूद्ध आक्रमणमा प्रयोग हुनसक्ने सबै शिविरहरूलाई निसाना बनाइने छ, इरानी राष्ट्रिय समाचार एजेन्सीले प्रकाशन गरेको गार्डस्को एउटा वक्तव्यमा उल्लेख छ। सुलेमानीको अन्तिम संस्कार सकिएको केही घण्टापछि इरानले यी आक्रमण गरेको हो। इराकमा अमेरिकाका ५,००० सैनिक रहेका छन्।









































