काठमाडौं : पौष २३, काठमाडौंमा पक्राउ परेका १२२ चिनियाँलाई साउथर्न चाइना र इस्टर्न चाइनाका दुई जहाजमा चीन लगिने भएको छ । उनीहरुलाई लगिने दुबै जहाज त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल ल्यान्ड भइसेकेका छन् । उनीहरुलाई बुधबार साँझ सात बजे लैजाने तयारी भएको सुरक्षा स्रोतले जनाएको छ । नेपालले देश निकाला गरेपछि उनीहरुलाई लैजान चिनियाँ पक्षले आफ्नै देशका दुई जहाजमा पठाएको हो ।
अध्यागनम विभागका निर्देशक रामचन्द्र तिवारीका अनुसार आवश्यक सबै प्रक्रिया पूरा गरेर उनीहरुलाई देश निकाला गर्न लागिएको बताए । नेपालमा बसेर चीनमा विभिन्न अपराधमा संलग्न भएको आरोपमा पुस २३ गते उनीहरु पक्राउ परेका थिए । पक्राउ परेका सबै चिनियाँ पर्यटक भिसामा नेपाल आएको खुलेको छ । प्रहरीले चीनमा गम्भीर अपराधमा संलग्न भएको आरोपमा उनीहरुलाई पक्राउ गरेको बताएको थियो ।
पक्राउ परेका सबैलाई अभद्र व्यवहारमा सामान्य मुद्दा चलाइएको थियो । सुरक्षा अधिकारीका अनुसार ताइवानलगायत हङकङ, भियतनाम, कम्बोडियालगायतका देशहरुका ‘एन्टी चाइनिज’ नागरिकले चीनको अर्थतन्त्रमा ठूलो असर पार्ने अपराधिक योजना बनाएका थिए । चिनियाँ सुरक्षा अधिकारीले नेपाल प्रहरीलाई दिएको जानकारी भने चिनियाँ नागरिकले नेपालमा बसेर अनलाइन सट्टेबाजी, फुटबल म्याच फिक्सिङ, ग्लाम्बलिङ, मानव तस्करी, यौनजन्य क्रियाकलापको भिडियो निर्माण, फेक अकाउन्ट, ह्याकिङ गर्ने योजना बनाएका थिए ।







































