काठमाडौं : पौष २५, सत्तारुढ नेकपाभित्र सभामुख कसलाई बनाउने भन्ने विषयमा विवाद हुदा सभामुख चयन प्रक्रिया अन्योलमा परको छ । दुई अध्यक्षबीच सभामुखमा सहमति नभएपछि सत्तारुढ नेकपाकै एउटा पक्षले उपसभामुख डा. शिवमाया तुम्बाहाम्फेको राजीनामा रोकेको छ । तर, तुम्बाहाम्फेले भने आफूले उपयुक्त समयमा निकास दिने भन्दै सभामुख पदमा आफ्नो दाबी बलियो बताएकी छन् । पूर्वमाओवादी पक्षका नेताहरुले केपी ओली पक्षले उपसभामुख कार्ड प्रयोग गरेको र उनलाई राजीनामा नदिन भनेको दाबी गरेका छन् । उपसभामुखले राजीनामा नदिई सभामुख चयनको प्रक्रिया अघि नबढ्ने प्रमुख सचेतक देव गुरुङले बताएका छन् ।
तर, पूर्वएमाले नेताहरुले भने सुवास नेम्वाङलाई सभामुख बनाउने प्रतिबद्धताबाट प्रचण्ड ‘ब्याक’ भएपछि तुम्बाहाम्फेको राजीनामा रोकिएको बताएका छन् । सभामुखमा सत्तारुढ नेकपाभित्रै सहमति नभएका कारण पुस ४ गते सुरु भएको संसदको बैठक तीनपटक सूचना टाँसेर स्थगित भएको छ । प्रतिनिधिसभाको अर्को बैठक पुस २७ गते बोलाइएको छ । प्रधानमन्त्रीले सुवास नेम्वाङ र प्रचण्डले अग्नि सापकोटाको नाममा अडान लिएका छन् । नेम्वाङलाई सभामुख बनाउने अडानबाट प्रधानमन्त्री लचिलो नबनेपछि यो विषय पेचिलो बनेको प्रचण्डनिकट स्रोतले जनाएको छ ।
पूर्वएमालेका नेताहरुमध्ये बामदेव गौतमले सुवास नेम्वाङलाई सभामुख बनाउनुपर्ने बताएका छन् । प्रधानमन्त्री ओली, ईश्वर पोखरेल र बिष्णु पौडेल नेम्वाङलाई बनाउने पक्षमा छन् । माधव नेपाल र झलनाथ खनालले केही बोलेका छैनन् । तर, नेपालको समर्थन नेम्वाङलाई हुने उनी निकट नेताहरु बताउँछन् । झलनाथ पनि आफ्नै जिल्लाका नेता नेम्वाङलाई चिढ्याउन चाहँदैनन् ।