काठमाडौं : माघ १०, नेपालमा एमसीसी परियोजनाको चर्को विरोध भई रहदा राजधानी काठमाडौंमै अमेरिकी सेना र नेपाली सेनाले संयुक्त अभ्यास गर्ने भएको छ । अगामी फागुन ५ र ६ गते कामाडौंमा सहरी विद्रोह सामना गर्ने विषयमा नेपाल र अमेरिकी सेनाबीच सैन्य अभ्यास हुने भएको छ। संभावित सहरी विद्रोह र त्यसले उत्पन्न गराउन सक्ने चुनौतिका विषयमा नेपाल र अमेरिकी सेनाका विशेष फौजबीच संयुक्त सैन्य अभ्यास हुने भएको हो।
आगामी फागुन ५ र ६ गते काठमाडौंमा हुने सैन्य अभ्यासमा (तालिम) नेपाली र अमेरिकी सेनाका विशेष फौज सहभागी हुँदै छन्। ‘ब्यालेन्स नेल’ नाम दिइएको सैन्य अभ्यास छाउनीस्थित महावीर गण (रेञ्जर) मा हुनेछ। उक्त सैन्य अभ्यासमा अमेरिकी सेनाका ९ जना र नेपाली सेनाका ३६ जना विशेष फौज सहभागी हुने सैनिक स्रोतले जनाएको छ। विभिन्न विषयका प्रशिक्षकसहित अमेरिकी विशेष फौज फागुन पहिलो साता काठमाडौं आउने छन्।
नेपाली र अमेरिकी सेनाबीचको सैन्य अभ्यासले सैद्धान्तिक, व्यवहारिक र विशेष अनुभवको आदान प्रदान गर्न सहयोग गर्ने छ। नेपाली सेनाको अन्य सैनिक संगठनसँग सहकार्य गरी सैनिक कारवाही सञ्चालन गर्न सक्ने क्षमतामा समेत अभिवृद्धि गर्न विशेष सहयोग पुग्ने र युक्त तालिम÷अभ्यासबाट दुई देश बीचको मैत्रीपूर्ण पारस्परिक सम्बन्धलाई अझ बढी प्रगाढ एवं सौहार्द बनाउन सहयोग पुग्ने नेपाली सेनाले बताउँदै आएको छ।
सन् २०१८ मा ‘ब्यालेन्स नेल’ अन्तर्गत नेपाली र अमेरिकी सेनाबीच तीनवटा सैन्य अभ्यास भएका थिए। सन् २०१९ मा नेपाली र अमेरिकी सेनाबीच दुईवटा सैन्य अभ्यास भएका थिए। नेपाली सेनाले सैन्य कुटनीतिलाई बलियो बनाउन विभिन्न मुलुकका सैनिकसँग सैन्य अभ्यास गर्दै आएको छ। नेपाली र चिनियाँ जनमुक्ति सेनाबीच प्रतिआतंकवाद केन्द्रित सैन्य अभ्यास हुँदै आएको छ।