काठमाडौं : माघ १८, नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को केन्द्रीय समितिमा प्रमुख तीन गुटहरुमध्ये प्रचण्ड समूह सबैभन्दा बलियो देखिएको छ । पूर्वमाओवादी समूहलाई प्रचण्ड समूह मानेर विश्लेषण गर्दा यस समूहमा १८३ जना छन् । यो भनेको कुल केन्द्रीय सदस्य संख्याको लगभग ४२ प्रतिशत हो । त्यसैगरी केपी ओली समूहको संख्या केन्द्रीय समितिमा १४० देखिएको छ । यो संख्या कुल केन्द्रीय सदस्यमध्ये ३२ प्रतिशत हो । केन्द्रीय कमिटीमा माधव नेपाल समूहको उपस्थित २६ प्रतिशत अर्थात ११४ जना रहेको छ । गुटगत हिसाबले माधव समूह तेस्रो स्थानमा छ । पछिल्लो समय उसले आफ्नो स्थिति बलियो बनाउँदै लगेको छ । ओलीतिर नजिक बनेका मुकुन्द न्यौपानेहरु माधव पक्षका भेलाहरुमा सहभागी हुन थालेका छन् । त्यसैगरी वामदेव समूहमा रहेका केही नेताहरु स्वयं वामदेवसँगै रुष्ट हुँदाहुँदै पनि माधव नेपालतिर ढल्किएका छन् । गणेश ठगुन्ना जो वामदेव समुह निकट मानिन्थे उनी नेपाल समुहसँग नजकिएका छन् ।
केन्द्रीय कमिटीमा माधव नेपाल र प्रचण्ड समूह आपसमा मिल्दा ५८ प्रतिशत पुग्छ । कुल ४३७ केन्द्रीय सदस्य मध्ये प्रचण्ड समूह र माधव नेपाल समूहलाई जोड्दा २९७ पुग्छ । जबकि ओलीको पक्षमा १४० मात्र छन् । जारी केन्द्रीय कमिटी बैठकमा एमसीसी, यती प्रकरण, सरकारको मूल्यांकन लगायतका मुद्दामा प्रचण्ड समूह र माधन नेपाल समूहका नेताहरु एकमुख देखिएका छन् । भलै केन्द्रीय कमिटीमा एमसीसी आदिबारे भोटिङ नहुने भएकाले अल्पमतमै परे पनि केही फरक नगर्ने भन्दै ओली पक्षका नेताहरु ढुक्क देखिएका छन् ।
पार्टी एकतादेखि नै नेकपामाभित्र त्रिकोणात्मक अन्तरसंघर्ष चल्दै आइरहेको थियो । कहिले प्रचण्ड र ओली समूह मिलेर माधव नेपाल समूहलाई कर्नरमा पार्ने त कहिले पूर्वएमाले समूहहरु मिलेर पूर्वमाओवादीलाई अल्पमतमा पार्ने प्रयत्नहरु हुँदै आइरहेका थिए । तर, पछिल्लो समय माधव नेपाल समूह र प्रचण्ड समूह मिलेर ओली पक्षलाई अल्पमतमा पारेको छ । बैठकमा छलफलका लागि विभाजित १५ वटै समूहमा प्रचण्ड र माधव पक्षका नेताहरु आपसमा मिलेपछि ओली समूहका नेताहरु प्रतिरक्षात्मक बनेका छन् ।
सत्तारुढ नेकपाको केन्द्रीय समितिमा विधानतः कुल केन्द्रीय सदस्यहरुको संख्या ४४१ हो । यसमा ५ जना पदेन सदस्य र ३ जना आमन्त्रित सदस्यहरु थप्दा केन्द्रीय कमिटीको संख्या ४४९ हुन जान्छ । तर, यसमध्ये रविन्द्र अधिकारी र धनीराम पौडेल दुई नेताको निधन भएको छ । अन्य ६ जना संवैधानिक जिम्मेवारीका कारण पार्टी कमिटीबाट बाहिरिएका छन् । यसर्थ, ४४९ मा ८ घटाउँदा ४४१ हुन आउँछ । तर, पछिल्लो समय पूर्वमाओवादीबाट आएका चारजना र पूर्वएमालेबाट शिवमाया तुम्बाहाङफेसहित पाँचजना केन्द्रीय सदस्य थपिएका छन् । सत्तारुढ नेकपा महासचिव विष्णु पौडेलका अनुसार पार्टीको यो दोस्रो बैठकमा सहभागिता जनाउने सदस्यहरुको कुल संख्या (पदेन र आमन्त्रित समेत) ४४६ जना रहेको छ ।
धर्मनाथ यादव र तिलक परियार प्रदेश प्रमुख भएकाले बैठकमा भाग लिँँदैनन् । बंशीधर मिश्र राजदूत भएका छन् । केन्द्रीय सदस्य समिम मिया अन्सारी मुस्लिम आयोगको प्रमुख बनेका छन् भने विष्णुप्रसाद चौधरी थारु आयोगमा गएका छन् । अग्निप्रसाद सापकोटा सभामुख बनेकाले पार्टीको बैठकमा सहभागी छैनन् ।
गत भदौ ९ गतेको बैठकले पूर्वमाओवादीका पदम राई, किरण राई, देवेन्द्र पराजुली र कल्पना धमलालाई केन्द्रीय समितिमा मनोनित गरेको थियो । अध्यक्ष ओलीले थप ४ जनाको नाम प्रस्ताव गरेका थिए । तर माधव नेपालको असहमतिका कारण पूर्वएमालेबाट प्रस्तावित नाम केन्द्रीय कमिटीमा परेनन् । मंगलबारको सचिवालयले बैठकले निवर्तमान उपसभामुख शिवमाया तुम्बाहाङ्फेलाई केन्द्रीय कमिटीमा ल्याएको छ ।