काठमाडौं : माघ २८, अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ललिता निवास प्रकरणमा पूर्वाग्रही भएर मुद्दा दर्ता गराएको भन्दै संसद अवरोध गरेको कांग्रेसले अवरोध खुला गरेको छ । कांग्रेसले जारी राखेको अवरोध स्थगत गरेपछि संसद सुचारु भएको छ । संसद बैठकको सुरुमै कांग्रेस सचेतक पुष्पा भुसालले सरकारले अख्तियारको अधिकारमाथि फेरि पनि धावा बोलेको भन्दै भ्रत्र्सना गरिन् ।
“अख्तियार दुरुपयोग अनुसनधान आयोगले नेपाली कांग्रेस संसदीय दलका उपनेता तथा पार्टी उपसभापति विजयकुमार गच्छदारमाथि राजनीतिक पूर्वाग्रहका आधारमा विभेदकारी ब्यवहार, राजनीतिक प्रतिशोधको आधारमा लोकतान्त्रिक मूल्य मानयता विपरित, समानताको सिद्धान्त विपरित भेदभावपूर्ण ढंगबाट राजनीतिक पूर्वाग्रह राखेर सम्मानीत विशेष अदालतमा जुन आरोप पत्र दायर गरेको थियो, त्यसमा संसदमा प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले घोर आपत्ति यही सम्मानीत सदनमा व्यक्त गरेको कुरा म स्मरण गराउन चाहन्छु,” उनको भनाइ थियो ।
नेपालको संविधानले परिकल्पना गरेको अत्यन्त तटस्थ, निस्पक्ष ढंगबाट अधिकार क्षेत्रमा रहेर आफ्नो कामहरु गर्नुपर्ने दायित्वका साथ अगाडि बढ्नु पर्ने अख्तियारले आफ्नो अधिकार क्षेत्रभन्दा बाहिर गएर नेपाल सरकारबाट प्रभावित भएर जुन किसिमबाट मुद्दा दायर गरेको थियो । त्यसमा पूर्ण रुपबाट राजनीतिक प्रतिशोध भएको कुरा त्यो आरोप पत्र पढ्दा स्पष्ट भएको थियो । त्यसको विरोधमा संसदमा प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले सदनलाई बन्द गराएको थियो । उनले अख्तियारले राजनीतिक पूर्वाग्रह साँधेर आरोपपत्र दायर गरेको पुष्टि भएको दाबी गरिन् ।