काठमाडौं ।
नुवाकोटको बेलकोटगढी नगरपालिकाले जनप्रतिनिधिको भारत भ्रमण र नगरपालिमा दिईएको बिदाबारे स्पष्ट पारेको छ । नगरपालिकाकी उपप्रमुख कविता ढुङ्गानाले आज एक विज्ञप्ती जारी गर्दै माघ २७ गते नगरपालिका स्थापना दिवसको विदा दिईएको प्रष्ट पारेकी छन् । साथै सोहि दिन भएको भारत भ्रमणबारे प्रष्ट पार्दै उपप्रमुख ढुङ्गानाले युएनओपिएसको आयोजनामा पुननिर्माणसम्बन्धी कार्यक्रममा सहभागी हुन भारत गएको प्रष्ट पारेकी छन् ।
सञ्चारमाध्यममा नगरप्रमुख र उपप्रमुख भारतभ्रमण जादाँ नगरमा सार्वजनीक विदा भन्ने आशयका समाचार प्रकाशित भएर आलोचना भएपछि नगरपालिकाले विदा र भ्रमणबारे औपचारिक रुपमा प्रष्ट पारेको हो । नगरप्रमुख र उपप्रमुखको अनुपस्थितिलाई लिएको भएको चासो प्रति सचेत रहेको भन्दै उपप्रमुख ढुङ्गानाले भ्रमपुर्ण समाचार र नकारात्मक टिप्पणीको खण्डन गरेकी छन् ।
‘पत्रकारिताको आडमा गरिएको अतिरन्जना र दुराशययुक्त समाचारहरु बारे हामी सुचित छौं । तर त्यस्ता समाचारहरुले जनमानसमा पारेको भ्रम निवारण हुनुपर्दछ भन्ने हाम्रो चासो हो ।’ विज्ञप्तीमा भनिएको छ, ‘लामो संघर्ष र बलिदानबाट प्राप्त स्थानीय सरकारको व्यवस्था र जनप्रतिनिधि प्रति गरिएको नकारात्मक टिप्पणी र समाचारको खण्डन गर्दै त्यस्ता गतिबिधिको घोर भ्रत्सना गर्दछौं ।’
नगरपालिकाले कहिँ कतै त्रुटी भए आत्मालोचनासहित सच्याउन सधैं तयार रहेको भन्दै उपप्रमुख ढुङ्गानाले जनताको सुबिधा, चाहना र आवश्यकता सम्बोधनका लागि नगरपालिका जवाफदेही र प्रतिबद्ध रहेको उल्लेख गरेकी छन् ।