पदबाट राजीनामा दिएका सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बास्कोटाले आफ्नो कारणले संसद घेरिन नहुने बताएका छन् । लोकतन्त्रमा कुनै पनि व्यक्तिका कारण आन्दोलन गर्नुपर्ने र संसद घेर्नुपर्ने अवस्था आउन नहुने भन्दै बास्कोटाले नैतिकताको आधारमा राजीनामा दिएको बताए ।
७० करोडको कमिसन लेनदेन सम्बन्धी अडियो सार्वजनिक भएपछि बास्कोटाले आज अपरान्ह बालुवाटार पुगेर राजीनामा बुझाएका हुन् ।
आफ्नो कारणले संसद नघेरियोस् र आन्दोलन नहोस् भनेर आफूले राजीनामा दिएको बास्कोटाले प्रतिक्रिया दिएको अनलाईन खबरले छापेको छ ।
‘प्रश्न उठेपछि राजीनामा गर्नुपर्छ भन्ने मेरो एकदम प्रष्ट छ । नैतिकता छ र भोलि कसैले छानविन गर्छु भन्यो भने कसैलाई छानविनका निम्ति आन्दोलन गर्न लगाउन हुँदैन । डेमोक्रेसीमा कानुनी राज भनिसकेपछि संसद घेर्न लाउन हुँदैन नि त ।’ उनले भनेका छन् ।
‘जब एउटा पोलिटिकल मान्छेलाई प्रश्न उठ्छ, उसले यसमा अप्ठ्यारो मान्नु नै हुँदैन, ढ्याक्क राजीनामा दिने हो ।’ बास्कोटाले भने ।
बास्कोटाले जसका बारेमा प्रश्न उठेको छ उही जवाफदेही हुने भन्दै सरकार र पार्टीलाई मुछ्न नहुने बताएका छन् । ‘जसका बारेमा प्रश्न उठ्छ, उही जवाफदेही हुन्छ ’ उनले भने ।