-पुजा श्रेष्ठ
आऊ न तिमी र म सँगै जाम
पर पर देउराली सम्म
भञ्ज्याङ् अनि चौतारी सम्म
मलाई त्यो चौतारीमा बसेर
टाढा टाढा धेरै टाढा सम्म
बस्ती अनि बस्तीहरु सम्म
टुलु टुलु हेर्ने मन छ !
हतार लागेको छ मलाई
जनताको रगत बगेथ्यो त्यहाँ
विरताको धुन बजेथ्यो त्यहाँ
धेरै भो तिमी र म नपुगेको
कति फेरिए होलान् त्यहाँ
कति उस्तै होलान् त्यहाँ
परिवर्तन देख्न मन छ !!
देशको मुहार फेर्ने भन्थ्यौं हामी
गरिब दु:खीको दिन फेरियो कि छैन ?
सबै खालको विभेद मेटियो कि छैन ?
शहीदहरुको समाजवादको सपना
लड्दालड्दै घाइते भएकाको सपना
कति पूरा भो हेर्ने धोको छ !!!
पंक्षीझैँ उडेर पुग्ने मन छ
हाम्ले चाहेको स्वाभिमान र स्वतन्त्रता
जनमनले चाहेको स्वाधीनता र स्वच्छन्दता
चारैतिर छरिएको हेर्ने मन छ
अन्याय र अत्याचारले थिचिएको
भ्रष्ट, व्यभिचारी र दलालले मिचिएको
बस्तीहरुमा न्याय र उन्मुक्ति हेर्ने मन छ
स्वतन्त्र स्वाभिमानी घामको झुल्को हेर्ने मन छ !!!