काठमाडौं ।
सेनाको इतिहासमा पहिलोपटक सुरुवात भएको सम्पति विवरण सार्वजनिक गर्ने परिपाटी सेनाभित्र परिपालना भएको छैन । प्रधानसेनापति पूर्णचन्द्र थापाले आफ्नो सम्पति सार्वजनीक गर्दै सुरु गरेको यो नियम ५ अधिकृतले मात्र मानेको पाईएको छ ।
गत भदौयता बलाध्यक्ष रथी गौरव तण्डुल, उपरथीद्वय प्रभुराम शर्मा र आनन्द कार्की तथा सहायक रथीद्वय विज्ञानदेव पाण्डे र प्रेम शाहीले मात्रै सैनिक वेबसाइटमार्फत सम्पत्ति विवरण सार्वजनिक गरेका छन् ।
गत भदौ २४ मा जंगी अड्डामा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानसेनापति थापाले सेनाको वेबसाइटमा सम्पूर्ण सम्पत्ति विवरण राखेको जानकारी दिएका थिए । ‘नेपाल सरकारको नीतिअनुसार तपाईं–हामीले आफ्नो सम्पत्ति विवरण बुझाउनुपर्छ र आवश्यक पर्दा भन्दाबाहेक त्यो गोप्य रहन्छ । बाध्यता छैन, स्व:स्फूर्त रूपमा राख्न चाहनुहुन्छ भने तपाईंहरूले आर्मी वेबसाइटमा आफ्नो सम्पत्ति विवरण राख्न सक्नुहुन्छ । मैले आजैका मितिमा अपलोड गरी मेरो सम्पत्ति विवरण सार्वजनिक गरेको छु,’ उनले भनेका थिए ।
चेन अफ कमान्डमा चल्ने संगठनमा कमान्डरले गरेको घोषणा र कामलाई पछ्याउनु मातहतका अधिकृतहरूको दायित्व हुन्छ ।
पूर्वसहायक रथी तथा सैन्य मामिलाका जानकार केशरबहादुर विष्ट संगठनकै कमान्डरले सम्पत्ति विवरण सार्वजनिक गरेपछि मातहतका सबैलाई आआफ्नो सम्पत्ति विवरण सार्वजनिक गर्न दबाब पर्ने बताउँछन् । तर बाध्यकारी व्यवस्था नभएकाले अरूले सम्पत्ति विवरण सार्वजनिक नगरेका हुन सक्छन् ।
प्रधानसेनापति थापाले छ महिनाअघिको उक्त कार्यक्रममा यसै वर्षबाट रथी तथा अधिकृतहरूको सम्पत्ति विवरणको दुरुस्त अभिलेख राख्ने र आवश्यकताअनुसार अनुगमन गर्ने विशेष व्यवस्था गर्न लागिएको बताएका थिए ।