काठमाडौं ।
नेपाली सेनाले कोरोना भाइरस नष्ट गर्न हेलिकोप्टरबाट किटनासक औषधि छर्ने भन्दै सामाजिक सञ्जालमा भाईरल भएको अडियोबारे प्रष्ट पारेको छ । सेनाले अनावश्यक अडियो भाईरल भएको भन्दै अफवाहको पछि नलाग्न अपिल गरेको छ ।
एकजना युवतीको आवाजमा रेकर्ड भएको करिब २९ सेकेण्डको अडियो भाइरल भएपछि सेनाले मुख खोलेको हो। नेपाली सेनाका प्रवक्ता तथा सैनिक जनसम्पर्क निर्देशनालयका प्रमुख विज्ञानदेव पाण्डेले सामाजिक सञ्जालहरुमा ‘नेपाली सेनाको हेलिकप्टर प्रयोग गरि आकाशबाट कोरोना भाईरस (कोभिड-१९) विरुद्ध किटनासक औषधि छरिने’ भनी आएको समाचारमा गम्भीर ध्यानाकर्षण भएको जनाएका छन।
उनले सेनाले कोरोना फैलिन नदिन आवश्यक पूर्वतयारी गरिरहेकै बेला यस्तो अफवाहको पछि नलाग्न पनि भनेका छन्। ‘नेपाली सेनाले आन्तरिक रुपमा उक्त भाइरसको रोकथाम तथा संभावित महामारीविरुद्ध न्युनीकरण तथा प्रभावकारी व्यवस्थापनको लागि आवश्यक तयारी शुरु गरेको छ’, उनले भनेका छन् ।
संवेदनशील घडीमा कसैलाई पनि भ्रमको पछि नलाग्न पनि अपिल गर्दै सेनाले जारी गरेको विज्ञप्तीमा भनिएको छ, ‘अहिलेको संवेदनशील घडीमा यस्तो भ्रामक, झुटो र मनगढन्ते समाचारमा विश्वास नगर्न नेपाली सेना सम्पूर्ण पाठकवर्गमाक अनुरोध गर्दछ ।’