काठमाडौं ।
आज चैते दशैँ पर्व । चैत शुक्ल अष्टमीका दिन मनाइने चैतदशैँ नेपालीले घर घरमा नवदुर्गा भगवतीको पुजा आराधना गरि मनाउँदैछन् । हनुमानढोका दशैँघरमा भने बडादशैँमा जस्तै घटस्थापना गरेर विधिवत पुजा आराधना गरिन्छ । चैतेदशैँमा अष्टमी र नवमीलाई विशेष रुपमा मनाइने प्रचलन छ । अष्टमीको दिनलाई चैतेदशैँ र नवमीलाई त्रेतायुगमा अयोध्याका राजा दशरथ र रानी कौशल्यावतीका ज्येष्ठ सुपुत्रका रुपमा श्रीरामको जन्म भएकाले रामनवमीका रुपमा मनाउने गरिन्छ ।
विगतका बर्षहरुमा चैतेदशैँ पर्वका अवसरमा बिहानैदेखी देशभरका शक्तिपिठहरुमा भक्तजनको भिड लाग्ने गरेकामा यसबर्ष कोरोना भाइरसको संक्रमणबाट बच्न सरकारले देशभर लकडाउन गरेकाले मानीसहरुले घरमै पुजाआजा गर्न सक्ने नेपाल पञ्चाङ्ग निर्णायक समितिले जनाएको छ । समितिका अध्यक्ष प्राध्यापक डाक्टर रामचन्द्र गौतमका अनुसार बडादशैँमा जस्तै चैतेदशैँमा पनि परिवारका सदस्यबीच जमघट हुने गर्छ ।
तर यसबर्ष कोरोना भाइरसको सन्त्रासले जारी लकडाउनका कारण परिवारका सदस्यलाई एकैठाउँमा जुटाइदिएको छ । आफन्तजन कहाँ भने जान सकिने अवस्था छैन त्यसैले घरमै रमाइलो गरी चैतेदशैँ मनाउने अवसर भने जुटेको छ । आजको दिन उपत्यकाका गुह्येश्वरी, जय बागेश्वरी, नक्साल भगवती, मैतीदेवी, शोभा भगवती, कालीस्थान, बज्रयोगीनी, भद्रकाली, इन्द्रायणी, विजेश्वरी, सुन्दरीमाई, चामुण्डादेवी लगायत पिठमा चैतेदशैँका अवसरमा विशेष पुजा हुन्छ । उपत्यका बाहिरका पलाञ्चोक भगवती, चन्द्रेश्वरी, शैलेश्वरी, बागेश्वरी, गढवामाई, मनकामना, मौलाकालीका, कालिकादेवी लगायतका शक्तिपिठहरुमा पनि चैत्रनवरात्रका अवसरमा विशेष पुजा गरिन्छ ।
लकडाउनका कारण धेरैजसो मन्दिर भक्तजनका लागि सूचना टाँस गरि बन्द गरिएको छ । त्यहाँ नित्य पुजाका लागि पुजारीले मात्र प्रवेश पाउने व्यवस्था गरिएको जनाइएको छ ।
प्राचिनकालदेखी नै हनुमान ढोकामा चैतेदशैँको अवसरमा बलीसहित पुजाआजा गरिने गरिएकोमा यसबर्ष पुजा हुने तर बली नदिइने भएको छ । कोरोना भाइरसको सन्त्रासका कारण पशुचौपायाको ढुवानीमा रोक लगाइएको हुँदा बली नदिइने दशैँघरका मुल पुजारी देवराज अर्यालले जानकारी दिए । दशैँघरमा दुर्गापुजा भने भइरहेको छ ।




















































