मनोज घिमिरे
सौराहा २९ चैत ।
उसो त पर्यटकिय क्षेत्र भएका कारण यो ठाउँ सधैँजसो भरिभराउ हुन्छ । भन्नुको अर्थ स्थानीयको ओहोर दोहोर पर्यटकको पदछाप बाक्लै हुन्छ । तर यतिबेला विश्व नै सुनसान बनाउने गरि पृथ्वीभ्रमणमा निस्केको कोरोना भाइरसको कहरले मुलुक ठप्पै छ ।
छन् त यहाँ पनि पर्यटकका पदचाप मेटिइसके । पछिल्लो १९ दिनमा नयाँ पर्यटक भित्रिएका छैनन् । अनि भएका पर्टयक निस्किए र निखारिए ।
तर यहाँका गाउँलेलाई कुनै फरक परेको छैन् । फरक परेको छ त केवल स्वदेशी र विदेशी पाहुनाको आउजाउ हेर्न पाईएको छैन ।
यो गाउँ छिर्न दुई वटा गेट पार गरेर जानुपर्छ । सरकारको लकडाउनले यो गाउँलाई यसकारण पनि छोएको छैन कि यो गाउँ सदियौंदेखि लक नै छ ।
चितवन रत्ननगर नगरपालीका वडा नं ७ बद्रहनी टोल प्रमुख पर्यटकीय गन्तव्य सौराहा क्षेत्र हो । कोरोना सन्त्रासले सौराहा सुनसान छ । मान्छेहरु ढोका बन्द गरेर घरभित्र बसेका छन् । तर सौराहा देखि जम्मा २ किलोमीटर पश्चिममा रहेको यहाँका जनतालाई न त सरकारको घरभित्र बस्नु भन्ने आदेशले छोएको छ । न त बजारमा सामान नपाईएला के किन्नु खानु भन्ने पिरले छोएको छ ।
जनजाती बाहुल्य यो टोलमा एक घर नेवारको छ एक घर व्रम्हणको । ७५% तमाङ्ग समुदाय, १५% थारु समुदाय, ५% दराइ र ५% अन्य । यी गाउँले बिहानैदेखि घरधन्दा खेतिबारी र जंगलको काम नियमित उसैगरी गरिरहेका छन् जसरी बर्षौदेखि गर्दै आएका थिए ।
पूर्व सिमाना बाघमारा मध्यवर्ती सामुदायिक वनको खेल मैदान, पश्चिम सिमाना खोरसोर मध्यवर्ती वन, खगेरी खोला र हात्ती प्रजनन केन्द्र, उत्तर सिमाना बाघमारा मध्यवर्ती सामुदायीक वन र दक्षिण सिमाना राप्ती खोला तथा चितवन राष्ट्रिय निकुञ्जको वन । चारैतिरबाट बन र जंगली जनावरले घेरिएका यी स्थानीयको दैनिकी उस्तै छ ।
यहाँका स्थानीयलाई अहिलेको कोरोना डरभन्दा पनि ठुलो डर बर्षौदेखिको जंगली जनावरको आक्रमणको हो । जंगली हात्तीले उनीहरुको बस्ती र खेतीमा हमला गर्छ, हरेक बर्ष ।
अन्यत्र जस्तो प्रभाव नपरेको यस टोलका बासिन्दाले विश्वबाटै कोरोना भगाउन संसारिक पुजा समेत गर्न भ्याए । शनिवार राप्ती नदि किनारमा भेला भएका गाउँलेले सँगै पुजाआजा गरे विश्वबाटै कोरोना भगाउन कामना गरे र सँगै प्रसाद खाए ।