समर प्रतिक
काठमाडौं
नेपाल कम्युनिष्ट पार्टी नेकपाका प्रचार प्रसार विभाग प्रमुख तथा केन्द्रिय सदस्य अनिल शर्मा विरहीलाई उपचारका क्रममा प्रहरीले पक्राउ गरे पछि सामाजिक सञ्जालमा उनको रिहाईको माग गर्दै धेरैले पोष्ट गरेका छन् । नेत्र विक्रम चन्द विप्लव नेतृत्वको प्रतिबन्धित नेकपाका नेता विरहीलाई प्रहरीले हिजो भरतपुरस्थित पुरानो मेडिकल कलेजबाट पक्रेको थियो । विरहीको पक्राउसँगै सामाजीक सञ्जालमा सरकारको विरोध र उनको रिहाईको आवाज चर्किएको छ ।
विरहीको गिरफ्तारीलाई लिएर माओवादीका पुराना नेता नारायण शर्माले विगतका आफ्नै सहयोद्धासँग सरकार डराएको हो कि भन्दै प्रश्न गरेका छन् । उनले प्रतिबन्धित नेकपा सँग वार्ता गर्नुपर्ने बताएका छन् ।
पूर्व मन्त्री एवं माओवादी नेता लोकेन्द्र बिष्ट मगरले मानविय नाताले पनि बिनासर्त रिहाई गर्नुपर्ने बताएका छन् ।
प्रेस काउन्सिल नेपालका अध्यक्ष समेत रहेका जनआस्था साप्ताहिकका सम्पादक किशोर श्रेष्ठले विरहीलाई प्रकाउ नभइ उचीत उपचार गर्न माग गरेका छन् । उनले लेखेका छन् । ‘सरकारले उपचारमा ध्यान देओस् कानुनी प्रकृया पुर्याएर बन्दुक हैन कलमको सिपाही विरहीलाई यथासक्य छिटो रिहा पनि गरिदेओस् ।’
यस्तै वैज्ञानिक समाजवादी पार्टीका युवा नेता जागृत रायमाझीले सरकार कम्युनिष्ट आन्दोलन सिध्याउनमा ध्याउन्नरत रहेको भन्दै डबल नेकपा र ओली सरकार पुँजीवादको दलाल रहेको लेखेका छन् ।
यसैगरी कवि एवं गीतकार बलराम तिमल्सिनाले पनि तुरुन्त रिहाईको माग गरेका छन् ।
यस्तै लेखक खेम थपलियाले कोरोना महामारीविरुद्ध विश्व लडिरहेका बेला विरहीको गिरफ्तारीले स्तब्ध भएको लेखेका छन् । उनले भनेका छन्, ‘राजनैतिक वैचारिक आस्थाकै आधारमा देशका प्रबुद्ध व्यक्तित्वहरुको गिरफ्तारीले लोकतान्त्रिक शासक प्रशासकहरुले यो देशलाई योजनावद्ध रुपमा कता लैजादैछन् ?’
लेखक एवं पत्रकार नारायण नेपालले कलमले कटाक्ष गर्ने विशेषता बोकेका विरहीलाई अस्पतालबाटै गिरफ्तार गरिएको भन्दै सत्य तथ्य बाहिर आउनुपर्ने माग गरेका छन् ।
लेखक पुरुषोत्तम लम्सालले सरकारले विरहीलाई प्रकेर ठिक गरेको भन्दै कडा व्यङ्ग्य गरेका छन् । उनि लेख्छन्,’क्यावात गृहमन्त्री तिम्रा लाचार र जीर्ण सत्ता जुग जुग बाँचोस् । तिम्ले सम्हालेको राजनीतिक किल्ला अभेध्य रहोस् ।’
प्रगतिशिल लेखक रसुवाली कविले पनि उनको तत्काल रिहाई गर्न माग गरेका छन् ।
सामाजिक सञ्जालमा जनादेश साप्ताहिकका पुर्व सहसम्पादक भरत सिग्देल लेख्छन्, ‘विरहीको निर्वाध स्वास्थोपचारसहित तत्काल रिहाई गरियोस्’
यस्तै पत्रकार बिल अधिकारी गणतन्त्र ल्याउन विरहीको ठुलो योगदान रहेको भन्दै फरक आस्था राखेकै आधारमा गिरफ्तारी गर्नु नाजायज भएको लेखेका छन् ।
विरहीको निसर्त रिहाईको माग गर्दै फेसबुकमा नेकपा क्रान्तिकारी माओवादी चितवनका नेता नारायण शर्मा विपिनले विरहीलाई राजनैतिक व्यवहार गर्न माग गरेका छन् ।
साहित्यकार प्रोल्लास सिन्धुलीयले पनि सिघ्र रिहाई गर्न माग गरेका छन् ।
विरहीको गिरफ्तारीसँगै सरकार कोरोनासँग लड्नुपर्ने बेला राजनैतिक आस्था बोकेकाहरुसँग लडेको भन्दै चर्को विरोध भएको छ । कवि रविन्द्र अर्यालले लेखकलाई बन्दी बनाएर उपद्रो मच्याएको लेखेका छन् ।
प्रगतिशिल लेखक संघका नुवाकोट अध्यक्ष राजकुमार अर्यालले लेखेका छन्,’ए रातो सरकार ! यी राता कलमको गिरफ्तारी चैँ किन ?’
साहित्यकार एवं पत्रकार सिर्जन अबिरलले बिनासर्त रिहाईको माग गरेका छन् ।
यस्तै पुर्व जनसेना कमाण्डर जितेन्द्र तामाङ लेख्छन्,’विरहीमाथी गरिएको बलजफ्ती गिरफ्तार र यातनाले गृहप्रशासन र ओली सरकार दलाल फाँसीवादी प्रतिक्रियावादको नाङ्गो रुप भन्न सकिन्छ ।’
जनधारणा साप्ताहिकका सम्पादक निमकान्त पाण्डेले जिउँदा कम्युनिष्टलाई गोलि ठोकेर मरेकालाई सम्मान किन भन्दै प्रश्न गरेका छन् ।
सामाजिक सञ्जालमा सरकारले निशस्त्र र बिरामी भएका बेला पक्रेर मानविय समवेदना समेत नदेखाएको भन्दै आलोचना भएको छ ।
यस्तै महदिप पोखरेलले पार्टी कार्यालय विवादको कारण विरहीलाई पक्राउ गरिएको हुनसक्ने भन्दै लेखेका छन्, ‘बादल दाई पथिक दाईहरुले चितवनको पार्टी कार्यालय बिक्रि प्रकरणको रिस उतारेका हुन् कि ? पक्राउ निन्दनीय छ रिहाई गर ।’
फेसबुकमा केशब पुडासैनी ‘बिमल’ लेख्छन राजनीतिक आस्था र सक्रियता त सबैको हुन्छ । भर्याङबाट लडेर हात भाँचिएपछि अस्पतालमा उपचारको लागि जाँदा गिरफ्तारीमा पर्छन् । कोरोना कहर एकातिर अर्कोतिर आफै घाईते विरामी । मानविय समवेदना कमजोर देखियो । तुरुन्त रिहाई गरियोस् ।
कवि निभा शाहले फाँसीवादी सरकार मुर्दावाद लेखेकी छन् ।
यस्तै फेसबुकमा प्रेम सागर पौडेलले राजनीतिक आस्था राखेकै कारणबाट निरंकुश व्यवस्थाले जसरी धरपकड गर्नु कदापी जायज मान्न सकिन्न लेखेका छन् । उनले सरकारसँग विरामी अवस्थामा पक्राउ नगरि नहुने के कारण थियो ? भनी जवाफ मागेका छन् ।