लेखक, कवि, पत्रकार तथा विप्लव माओवादीका प्रकाशन विभाग प्रमुख अनिल शर्मा विरहीले उपचारको क्रममा रहँदै प्रहरीले अपहरणको शैलीमा विभिन्न जिल्लाका कारागार हुँदै पछिल्लो पटक सोलुखुम्बु, नुवाकोट घुमाएर काभ्रे पुर्याएको र हालसम्म पनि हिरासतमै राख्दा स्वास्थ्य सुरक्षामा गम्भीर नकारात्मक प्रभाव परेको भन्दै समस्या समाधानको लागि राष्ट्रिय मानवअधिकार आयोग, हरिहरभवन, ललितपुरमा उजुर हालेका छन् ।
बैशाख २३ गते लडेपछि शर्माको मेरुदण्ड र देब्रे गोडामा गहिरो चोट लागेर हल न चलको स्थितिमा भरतपुर अस्पतालमा उपचाररत छँदै आकस्मिक कक्षबाट प्रहरीले पक्राउ गरेको थियो । पटक पटक विभिन्न जिल्ला अदालतको आदेशबाट रिहा भएपनि अदालत परिसरबाटै पक्राउ गरेर अड्डासार गराइराखिएका शर्मालाई सर्वोच्च अदालतको आदेशपश्चात् पनि रिहा नगरी हिरासतमै राखिएको छ ।
उनले भनेका छन् ‘मोरङ्गको बेलबारी इलाका प्रहरी कार्यालयका हवल्दार भक्तिप्रसाद घिमिरेले हिरासतमा रहेकालाई चरम यातना दिने गरेका छन् । उनीहरूमाथि हुने अशिष्ट व्यवहार,यातना तत्काल बन्द गर्न र आपराधिक कार्यमा संलग्नलाई कारबाही गरियोस् ।’ धनुषा र बेलबारीको प्रहरी हिरासतमा रहँदाको प्रत्यक्ष अनुभव उल्लेख गर्दै शर्माले लेखेका छन् ‘त्यहाँका प्रहरी नै लागूपदार्थको व्यापारमा संलग्न छन् । साथै,कैयौंलाई पक्राउ पुर्जी जारी नगरी २१ दिनदेखि २५ दिनसम्म गैरकानुनी तरिकाले हिरासतमा समेत राखिएको छ भने, हिरासतमा रहेकालाई प्रहरीले जातीय विभेद समेत गर्ने गरेको छ’ ।’
शर्माले आफूलाई पुर्याइएका र राखिएका सबै प्रहरी हिरासतमा कुनैपनि सञ्चार माध्यममा पहुँच पुर्याउन नदिएको र पुस्तक अध्ययनमा समेत प्रहरीले प्रतिबन्ध लगाएको व्यहोरा लेखेका छन् ।
यसैबीच,खाँदबारी कारागारमा कोचिएर बसेका माइला लामाले शर्मालाई खर्चको जोहो भन्दै २० हजार रूपैयाँ आर्थिक सहयोग गरेका छन् । माइलाको पत्रमा भनिएको छ ‘वल्लो पल्लो घरमा छौं । वीचमा अग्लो पर्खाल छ,यसैले बोलचाल,भेटघाटको सम्भावना छैन नै । तपाईं त झन् सुगरको बिरामी मान्छे,स्वास्थ्यको राम्रो ख्याल गर्नुहोला । हामी सबै ठीक छौं । पक्कै खर्चको समस्या होला । २० हजार पठाएका छौं, सुस्वास्थ्यको कामना ।’
जनआस्था डटकममा समाचार छ ।