काठमाडौँ ।
संसद विघटन गरी पार्टी समेत फुटाएपछि प्रधानमन्त्री केपि शर्मा ओली भारत भ्रमणमा जाने भएका छन् । नेपालमा विकसित घटनाक्रममा भारतले औपचारिक रुपमा कुनै प्रतिक्रिया नजनाए पनि ओलीको कदममा भारत खुसी भएको विश्लेषकहरुले बताएका छन् । यसैबिच संसद विघटन र पार्टी फुटेर प्रचण्ड माधव नेपाल खेमाबाट छुट्टिनासाथ भारतले भ्रमणको निम्तो दिएको बुझिएको छ ।
गत वर्षदेखि चिसिएको दुई देशको सम्बन्ध सुधार्न भन्दै पछिल्लो चार महिनामा भारतबाट भएका औपचारिक तथा अनौपचारिक उच्चस्तरीय भ्रमणपछि पुस पहिलो साता परराष्ट्र मन्त्री प्रदीप ज्ञवालीले भारतको औपचारिक भ्रमण गर्ने गृहकार्य भइरहेको थियो ।
तर, अहिले एकाएक मुलुकमा विकसित चरम राजनीतिक संकट र अस्तव्यस्तताबीच प्रधानमन्त्रीको भारत भ्रमणको लागि आवश्यक गृहकार्य थालिएपछि राजनीतिक वृत्तमा अर्थपूर्ण ढंगले हेरिएको छ । उच्च स्रोतका अनुसार भ्रमण पुस २० गतेभित्र हुने गरी दुबैतर्फका कूटनीतिक र राजनीतिक संयन्त्र परिचालन भइसकेका छन् । भ्रमणको निम्तो आएको छ तर यस्तो बेला जान हुने कि नहुने भन्नेमा मथिङ्गल खल्बलिरहेको अवस्था पनि छ ।








































