काठमाडौँ ।
सर्वोच्च अदालतले चितवनको भरतपुरबाट पक्राउ परेका नेत्र विक्रम चन्द नेतृत्वको नेकपा निकट विद्यार्थी नेता सुमन श्रेष्ठलाई गैरकानुनी थुनामा राखेको भन्दै छाड्न आदेश दिएको छ । यही माघ ९ गते सप्तगण्डकी क्याम्पस परिसरबाट पक्राउ गरी श्रेष्ठमाथि अभद्र व्यवहारसम्बन्धी मुद्धा चलाइएको थियो ।
पक्राउ पछि परेको रिट निवेदनमाथि आदेश दिँदै अदालतले गैरकानुनी थुनामा राखिएकाले तत्काल छोड्न आदेश दिएको हो । श्रेष्ठलाई पटक पटक म्याद थप गरी हिरासतमा राखिएकोमा अन्य कुनै तथ्यमा अर्को मुद्धा लगाउने र थुनामा राख्ने कार्य प्रवृत्त भावनाका साथ गरिएकाले यस्तो गैरकानुनी थुनाबाट मुक्त गर्न आदेशमा भनिएको छ ।

श्रेष्ठको तर्फबाट अधिवक्ताहरु कपिलचन्द्र पोखरेल, सन्तोष कोइराला, चुडाबहादुर निरौलाले बहस गरेका थिए । नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपा निकट अखिल क्रान्तिकारीका चितवन सचिवालय सदस्य तथा भरतपुर नगर इन्जार्ज श्रेष्ठलाई प्रहरीले भरतपुरको सप्तगण्डकी कलेजबाट पक्रेको थियो ।








































