नुवाकोट ।
विवादका बिच वैशाख ८ गते दोस्रोपटक गराइएको नेपाल पत्रकार महासंघ नुवाकोटको चुनावमा बल प्रयोग गरिएको भन्दै नेपाल प्रेस युनियन नुवाकोटले आपत्ती जनाएको छ । आज युनीयन नुवाकोटका सभापति नमराज सुवेदीले जिल्ला प्रशासन कार्यालयलाई पत्र लेखी तालाबन्दी बहिस्कार र असहमतिका बिच चुनाव भएपछि प्रशासनको आडमा ताला खोल्ने प्रयास भएको भन्दै आपत्ती जनाउनुभएको छ ।
युनियनले विवाद निरुपण नभइसकेकाले गैरजिम्मेवार हर्कत नगर्न प्रशासनलाई भनेको छ । ‘केन्द्रमा उजुरी परेको र यो निर्वाचन धाँधलीपूर्ण, विवादास्पद निर्वाचन भएकोले महासंघको समस्या समाधान नभएसम्म बल प्रयोग गरेर ताला खोल्ने जस्तो गैर जिम्मेवार हर्कत नगर्न जिल्ला प्रशासन कार्यालय नुवाकोटलाई अनुरोध गर्दछौ ।’ पत्रमा भनिएको छ ।
महासंघको गैरजिम्मेवार तथा अपारदर्शी, विधीविपरितको गतिविधिमा परेका उजुरीउपर आधिकारिक निकायबाट फैसला नहुन्जेल जिल्ला प्रशासन कार्यालय विवादास्पद समितिको अनुरोधमा साक्षी नबस्न अनुरोध गर्दै युनियनले अन्यथा उत्पन्न हुने परिस्थितिको जिम्मेवार हुनुपर्ने चेतावनी दिएको छ ।
पत्रको विवरण
मिति २०७८÷०१÷१३
श्रीमान प्रमुख जिल्ला अधिकारीज्यू,
जिल्ला प्रशासन कार्यालय नुवाकोट बिदुर ।
बिषयः जानकारी सम्बन्धमा ।
महोदय,
उपरोक्त सम्बन्धमा नेपाल पत्रकार महासंघ जिल्ला कार्यसमिति नुवाकोटको नयाँ नेतृत्व चयनको लागि २६ औँ महाधिवेशन अन्तर्गत गत चैत्र २५ मा भएको निर्वाचनलाई अवैध ठहर गर्दै केन्द्रीय निर्वाचन समितिले अवैधानिक ठहर गरेको यहाँलाई अवगत नै छ । नेपाल पत्रकार महांसंघ जिल्ला शाखा नुवाकोटको निर्वाचनको क्रममा यस गठन भएको निर्वाचन समितिका सदस्य मध्येका एक सदस्य राम श्रेष्ठले निर्वाचन समितिको असक्षमता अन्य समितिका पदाधिकारीहरुको दवाव तथा अपराधिक मानसिकता गरेको भन्दै सदस्य पदबाट राजिनामा दिनुभएको थियो । निर्वाचन समितिको जिम्मेवार पदाधिकारीवाट नै राजिनामा आउनु र जिल्लामा रहेका क्रियाशील पत्रकारहरुको सङ्गठनहरुको असहमति र निर्वाचनमा होमिएका उमेद्वारहरु बिचको सहमति पछि निर्वाचन हुनुपर्नेमा अर्को पक्षका उम्मेदवारहरुलाई जानकारीसमेत नदिई संस्थापनको बलमा प्रहरी प्रशासनको भिड र त्रासका वावजुद एकपक्षीय रुपमा भएको निर्वाचन जुटाउन नसकी निर्वाचन समितिले एकलौटी रुपमा निर्वाचन बदर गर्न हामिले नेपाल पत्रकार महासंघ केन्द्रीय कार्यसमितिमा पुनः उजुरसहित नेपाल पत्रकार महासंघ जिल्ला शाखा नुवाकोटमा तालाबन्दी गरेको व्यहोरा यहाँलाइ जानकारी गराउन चाहन्छु ।
निर्वाचनमा होमिएका संङगठनहरुबिच सहमति हुन नसक्नु र केन्द्रीय समितिमा उजुरी हुदाँसमेत नेपाल पत्रकार महासंघ नुवाकोट शाखामा लगाइएको ताला समितिका अवैधानिक पदाधिकारीहरुले बिभिन्न हवला दिँदै प्रशासनको आडमा हाम्रा विवादकाबिच ताला खोल्ने प्रयास भएको भन्ने सुनिन आएको हुदाँ हाम्रो संगठनको गम्भीर ध्यानाकर्षण भएको छ । केन्द्रमा उजुरी परेको र यो निर्वाचन धाँधलीपूर्ण, विवादास्पद निर्वाचन भएकोले महासंघको समस्या समाधान नभएसम्म बल प्रयोग गरेर ताला खोल्ने जस्तो गैर जिम्मेवार हर्कत नगर्न जिल्ला प्रशासन कार्यालय नुवाकोटलाई अनुरोध गर्दछौ । साथै महासंघको गैरजिम्मेवार तथा अपादर्शी, विधी विपरितको गतिविधिमा परेका उजुरीउपर आधिकारिक निकायबाट फैसला नहुन्जेल जिल्ला प्रशासन कार्यालय विवादास्पद समितिको अनुरोधमा साक्षी नबस्न अनुरोध गर्दछौँ ।अन्यथा यसबाट उत्पन्न परिस्थितिको जिम्मेवार स्वयं प्रशासन कार्यालय हुने जानकारी गराउँदछौं ।
नमराज सुवेदी
नेपाल प्रेस युनियन नुवाकोट ।