काठमाडौ, २९ जेठ ।
बाल श्रम विरुद्धको विश्व दिवस घरेलु बालश्रम अन्त्य गरौं नाराका साथ सोमबार नेपालमा पनि विभिन्न कार्यक्रम गरी मनाईंदैछ ।
बालश्रम विरुद्ध सामाजिक सचेतना र सरोकार बढाउने उद्धेश्यले हरेक वर्ष जुन १२ तारिखमा यो दिवस मनाउने गरिन्छ ।
राष्ट्रिय श्रमशक्ति सर्वेक्षण प्रतिवेदन २००८ अनुसार १६ लाख बालबालिका श्रमिकका रुपमा कार्यरत छन् । ति मध्ये ६ लाख २० हजार बालबालिका निकृष्ट प्रकारको श्रममा संलग्न छन् । जोखिमपूर्ण श्रममा रहेका बालबालिकामा पनि झण्डै ६० प्रतिशत बालिका तथा ४० प्रतिशत संख्या बालकको रहेको छ ।
डेढ लाख भन्दा बढी बालबालिका घरेलु श्रमिकका रुपमा कार्यरत रहेको विभिन्न तथ्याङ्कले देखाएका छन् ।
नेपाल सरकारले बालश्रम रोक्न तथा समग्र बालअधिकारको संरक्षण तथा संवर्द्धनका लागि बालअधिकार सम्वन्धि महासन्धि १९८९, श्रमका लागि न्यूनतम उमेर निर्धारण सम्वन्धि आइएलओ महासन्धी १३८ र निकृष्ट प्रकारको बालश्रम उन्मुलन सम्वन्धि महासन्धि १८२ लाई अनुमोदन समेत गरेको छ ।