काठमाडौ, ३ असार ।
आउँदो वर्ष रुसमा हुने विश्वकप फुटबलको तयारीको रुपमा हेरिएको फिफा कनफेडेरेशन बप फुटबल प्रतियोगिता शनिबारदेखि सुरु हुँदैछ । विश्वकप फुटबल २०१८ को ठीक एक वर्षअघि शनिबार सुरु हुन लागेको कनफेडेरेशन कप फुटबललाई विश्वकपका दाबेदारबिचको प्रतिस्पर्धाको रुपमा लिने गरिएको छ । प्रतियोगितामा आयोजक रुससहित विश्वविजेता, युरोकप विजेता र महादेशीय विजेता राष्ट्रको सहभागिता छ । आयोजक रुससँगै ओसेनिया क्षेत्रको च्याम्पियन न्युजिल्याण्ड, युरोकप विजेता पोर्चुगल, विश्वकप विजेता जर्मनी, एसियाली च्याम्पियन अस्ट्रेलिया, दक्षिण अमेरिकी च्याम्पियन चिली, मध्यअमेरिका तथा क्यारेबियन क्षेत्रको च्याम्पियन मेक्सिको र अफ्रिकन च्याम्पियन क्यामरुनले कनफेडेरेसन कप फुटबलको उपाधिका लागि प्रतिस्पर्धा गर्दैछन् । शनिबार उद्घाटन खेलमा आयोजक रुस र न्युजिल्याण्डबिच खेल हुनेछ । खेल सेन्ट पिटर्सबर्गमा रहेको रंगशालामा हुने खेल नेपाली समय अनुसार राति पौने ९ बजे सुरु हुनेछ । यो प्रतियोगितामा गएको वर्ष युरोकप फुटबलको उपाधि जितेको पोर्चुगललाई बलियो दाबेदार मानिएको छ ।