काठमाडौं ।
२० फागुन – दोस्रो नेपाल अन्तर्राष्ट्रिय चलचित्र महोत्सव (नीफ–२०७५) मा उत्कृष्ट सम्पादकको अवार्ड लव प्याकुरेलले जितेका छन् । उनले सर्ट फिल्म ‘सुपर मंक’बाट अवार्ड जितेका हुन् ।
अवार्ड कार्यक्रमका पाँच निर्णायक प्यानलको सर्वसम्मत निर्णयबाट प्याकुरेललाई विजयी घोषणा गरिएको हो । विजेताहरुलाई प्रमुख अतिथि उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेलले पुरस्कार र प्रमाणपत्र प्रदान गरेका थिए ।

NIFF-Lawa Pyakurel
‘सेलिब्रेसन अफ नारेटिभ्स’ मूल नाराका साथ सुरु भएको नीफको दोस्रो संस्करण यही फागुन २१ देखि २५ गतेसम्म काठमाडौंको सिटी हल तथा पर्यटन बोर्डमा सम्पन्न भएको थियो । पाँच दिनसम्म चलेको महोत्सवमा ३१ देशका ६० चलचित्रले प्रतिस्पर्धा गरेका थिए । जसमा १६ नेपाली चलचित्र सहभागी थिए ।
लघु डकुमेन्ट्री फिल्म ‘सुपर मंक’ काल्पनिक कथामा आधारित हो । चलचित्रलाई सेनाङ ग्याम्जो तामाङले निर्देशन गरेका हुन् ।
उत्कृष्ट लघु डकुमेन्ट्री सम्पादकको विधामा पाँच जना मनोनयनमा परेका थिए । मनोनयनमा लव प्याकुरेल (नेपाल), सन्दीप अधिकारी (नेपाल), अर्घ्यकमल मित्र (भारत), रसदुज्जमान सोहाग (बंगलादेश) र सुविज्ञ सुन्दर श्रेष्ठ (नेपाल) परेका मध्ये प्याकुरेलले उपाधी हात पारेका थिए ।निर्णायक मण्डलका सदस्य निर शाहले भने, ‘प्याकुरेलले चलचित्रमा उत्कृष्ट अभिनव क्षमताका साथै सम्पादनको अन्तरक्रियात्मक विधि र आधुनिक तथा विशेष प्राविधिक ज्ञान देखाउनुभएको छ ।’
सम्पादन शैली र यथार्थपरक सम्पादन कला तथा हरेक परिदृश्यमा गतिशीलता ल्याउने विशेष क्षमताका कारण प्याकुरेल पुरस्कृत भएको शाहले बताए ।
महोत्सवमा समावेश भएका चलचित्रलाई निर्णायक मण्डलबाट मूल्याङ्कन गरी अवार्ड प्रदान गरिएको थियो । अन्तर्राष्ट्रिय विधाका उत्कृष्ट फिचर फिल्ममध्ये एकलाई ट्रफी र एक हजार नगद पुरस्कार, गौतम बुद्ध अवार्ड र लघु चलचित्रलाई ट्रफी र पाँच सय डलर नगदसहित सगरमाथा अवार्ड प्रदान गरिएको थियो ।
निर्णायकमा नीर शाह (नेपाल), प्रोफेसर लिङ क्विओ (चीन), प्रेमेन्द्र मजुमदार (भारत), सुश्री एनी डेलसेथ (फ्रान्स) र नवीन सुब्बा (नेपाल) थिए ।