काठमाडौँ ।
नवनियुक्त प्रधानमन्त्री नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पद तथा गोपनीयताको शपथ लिनुभएको छ । राष्ट्रपति भवन शीतल निवासमा सोमबार आयोजित एक विशेष समारोहमा प्रचण्डले जनताको नाममा शपथ लिनुभएको हो । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रचण्डलाई आइतबार नै संविधानको धारा ७६ को उपधारा २ बमोजिम प्रधानमन्त्रीमा नियुक्त गर्नुभएको थियो । संसदमा रहेका एमालेका ७८, माओवादीका ३२, रास्वपाका २०, राप्रपाका १४, जनमत पार्टीका ६, नागरिक उन्मुक्ति पार्टीका ४ र जसपाको १२ सांसदको समर्थनमा प्रचण्ड प्रधानमन्त्री बन्नुभएको हो । त्यस्तै स्वतन्त्र सांसदहरु प्रभु शाह, अमरेश कुमार सिंह र किरणकुमार साहको पनि प्रचण्डलाई समर्थन रहेको छ ।
यससँगै प्रधानमन्त्री प्रचण्डले आजै ८ सदस्यीय मन्त्रिपरिषद गठन गर्नुभएको छ । ३ उपप्रधानमन्त्रीसहित नवगठित मन्त्रीपरिषद्मा उपप्रधान एवं अर्थमन्त्रीमा नेकपा एमालेका विष्णु पौडेल, उपप्रधान एवं भौतिक पूर्वाधारमन्त्रीमा माओवादी केन्द्रका नारायणकाजी श्रेष्ठ र उपप्रधान एवं गृहमन्त्रीमा राष्ट्रिय स्वतन्त्र पार्टीक रवि लामिछाने रहनुभएको छ ।
मन्त्रीहरुमा ज्वालाकुमारी साह, दामोदर भण्डारी, राजेन्द्र राई र अब्दुल खान रहनुभएको छ । उहाँहरुको कार्यभार पछि तोकिनेछ । नवनियुक्त मन्त्रीहरुले आजै शपथ लिएका छन् ।