काठमाडौ, ८ असार ।
केहिदिन अघिबाट सक्रिय भएको मनसुन कमजोर बन्दै गएको छ ।
मनसुनी वायु कमजोर भएकाले देशभरि फैलन समय लागेको मौसमविदले बताएका छन् ।
सामान्यतया पूर्वी नेपालबाट भित्रिएको मनसुन एकहप्ताभित्र देशैभरि फैलने गरेकोमा यो वर्ष गएको जेठ २९ गते पूर्वी नेपालमा प्रवेश गरेको मनसुन देशैभरि फैलन अझै केही समय लाग्ने मौसमविद् मिनकुमार अर्यालले बताउनुभयो । उहाँका अनुसार मध्य भेगसम्म फैलिसकेको मनसुन वायु नै कमजोर भएकाले देशभरि नै फैलन नसकेको हो । यस्तै पश्चिमी वायु पनि सक्रिय भएकाले मनसुनी हावा पश्चिममा जान सकेको छैन । तर पश्चिमी वायुको प्रभावले पश्चिमको मौसम पनि बदली भइ पानी परिरहेको उहाँले जानकारी दिनुभयो । अरेबियन सागरको वायु नेपालमा आएपछि मनसुन सक्रिय हुने र त्यो नेपालमा आउन केही दिन लाग्ने देखिएको पनि उहाँले जानकारी दिनुभयो । यसैबिच अहिले खुलेको ठाउँको मौसम पनि दिउँसोपछि बदली भइ पानी पर्ने मौसमविद् अर्यालको भनाई छ । बिहीबार सामान्यतया देशभरी कै मौसम बदली भइ धेरै ठाउँमा पानी पर्ने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।